‘शहीद मुक्सन किराँत स्मृति खुला पुरुष भलिबल प्रतियोगिता–२०८३’ मङ्सिर–२५ गतेदेखि

Minakshi Rai
।

खोटाङ, १२ कातिक । शहीद मुक्सन किराँत स्मृति केन्द्र खोटाङले आगामी मङ्सिर–२५ गतेदेखि खोटाङमा ‘शहीद मुक्सन किराँत स्मृति जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित शहीद स्मारक स्थलमा स्मृति केन्द्रले दोस्रो संस्करणको खुला जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता हुने टोलीलाई नगद रु एक लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगिताको विजेतालाई शहीद किराँतको परिवारको प्रायोजनमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

विविध कार्यक्रमसहित आयोजना गर्न लागिएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा उपविजेता हुने टोलीलाई नगद रु ६० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक जितेन्द्र राईले बताउनुभएको छ । प्रतियोगिताका विद्यागततर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु तीन हजार, उत्कृष्ट लिबेरो, उत्कृष्ट मिडल ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भरलाई जनही रु दुई÷दुई हजार प्रदान गरिने जनाइएको छ ।

शहीद किराँतको स्मृति र योगदानलाई जीवन्त राख्दै खोटाङ जिल्लामा भलिबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्मृति केन्द्रका अध्यक्ष बबि चाम्लिङले बताउनुभएको छ । युवालाई खेलकुदप्रति आकर्षित गरी अनुशासन, नेतृत्व तथा सकारात्मक सामाजिक गतिविधितर्फ प्रोत्साहित गर्दै प्रतिभावान् खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्न जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

खेलकुदका माध्यमबाट सामाजिक सद्भाव, सहकार्य र सामुदायिक एकता अभिवृद्धि गर्नु, स्वस्थ जीवनशैली तथा खेल भावनाको विकास गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको जनाइएको छ । प्रतियोगिताले शहीदको स्मृतिलाई नयाँ पुस्तासम्म पु¥याउँदै सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागिता बढाउनुका साथै स्थानीयस्तरमा खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्न आवश्यक सहकार्य र साझेदारीको आधार निर्माण गर्ने आयोजकले दाबी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तत्कालीन जिल्ला परिषद् सदस्य एवम् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का राष्ट्रिय परिषद् सदस्य रहनुभएका किराँतको सशस्त्र द्वन्द्वको समयमा हत्या भएको थियो । शहीद किराँतको तत्कालीन विद्रोही पक्षबाट वि.सं. २०५९ असोज–२४ गते अपहरगरी हत्या गरेको हो ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार शहीद किराँतलाई अपरिचित तीन जनाको समूहले बिहान घरबाट अपहरण गरेका थिए । अपहरणमा परेकै बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढुङ्गे भन्ने ठाउँको खेतपुछारमा रहेको उत्तिसघारीमा शहीद किराँत मृत फेला पर्नुभएको थियो ।

शहीद किराँतको शव धारिलो हतियार प्रयोग गरेको र दुवै हातमा रातो कपडाले बाँधेको अवस्थामा भेटिएको समाचार स्रोतको दाबी छ । शहीद किराँतलाई नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला वि.सं. २०५९ सालमा औपचारिकरुपमा शहीद घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया