सातौँ सोल्मा अन्तर वडा कप फुटबल : दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्माको विजयी यात्रा सुरु

Minakshi Rai
।

खोटाङ, ११ कातिक । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले दिक्तेलस्थित सोल्मामा आयोजना गरेको अन्तर वडा कप पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले विजयी यात्रा सुरु गरेको छ । सोल्मा स्पोर्ट् क्लबले आयोजना गरेको सातौँ संस्करणको ‘सोल्मा अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता–२०८३’मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेललाई हराउँदै वडा नं. २ सोल्माले आफ्नो विजयी यात्रा सुरु गरेको हो ।

सोल्मा स्पोर्टस् क्लबको आफ्नै खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको पहिलो खेलमा सोल्माले १ गोल गर्दा वडा नं. १ दिक्तेल गोलरहित मैदानबाट बाहिरिएको छ । अन्तर्राष्ट्रिय फुटबल खेलको नियमअनुसार आयोजना गरिएको प्रतियोगिताको पहिलो हाफमा वडा नं. २ सोल्माका जर्सी नं. ७ का खेलाडी देवान राईले गरेको १ गोल नै प्रतियोगिताको निर्णायक गोल बनेको हो ।

कातिक–१५ गतेसम्म सञ्चालन हुने प्रतियोगीताका विजेताले नगद रु एक लाख २२ हजार २२२, उपविजेताले रु ७७ हजार ७७७ र सेमीफाइनलिष्ट दुई टोलीले जनही नगद रु ३३ हजार ३३३ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ । यस्तै, उत्कृष्ट खेलाडीलाई रु पाँच हजार ५५५ तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु दुई हजार २२२ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको दोस्रो दिन कातिक–१२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र केपिलासगढी गाउँपालिका–३ बास्पानीबीच पहिलो खेल सञ्चालन हुने आयोजकले जनाएको छ । सातौँ संस्करणको प्रतियोगितामा जिल्लाका १२ वडाको सहभागिता रहेको क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतियोगिता उद्घाटन समारोहमा ‘द भ्वइस किड्स सिजन–५’की सेमीफाइनलिष्ट मेरिल राई, सम्बन्ध ब्याण्ड तथा स्थानीय कलाकारले साँगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् । यस्तै, प्रतियोगिता समापनका दिन कातिक–१५ गते साँझ चर्चित गायिका रचना रिमालको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सोल्मा स्पोर्टस् क्लबले करोडौँ मूल्यको जग्गा खरिद गरेर निर्माण गरेको आफ्नै खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बेलुनको झुप्पामा झुण्ड्याइएको व्यानर उडाएर गर्नुभएको छ । उद्घाटन समारोहमा उडाइएको बेलुनमा झुण्ड्याइएको ब्यानर भेट्ने व्यक्तिलाई क्लबले नगद रू पाँच हजार ५५५ दिने घोषणा गरेको छ ।

सोल्मा स्पोर्टस् क्लबले यसअघि आयोजना गरेको छैटौँ संस्करणको उपाधि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाले जितेको थियो । ‘सभ्य समाजका निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ हरेक वर्ष अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्बलले समापनको अवसरमा रु पाँच हजार ५५५ राशिको खेल पत्रकारिता पुरस्कारसमेत प्रदान गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया