दशैँ बिदा सकिएपछि प्रशासनमा सेवाग्राहीको चाप

Minakshi Rai
।

खोटाङ, ११ कातिक । दशैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको चाप बढेको छ । दशैँ मनाउन घर आएका नागरिक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, दलित तथा जनजाति प्रमाणित लगायत सेवा लिन सेवाग्राही पुग्न थालेपछि कार्यालयको भीड बढेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार मात्रै ८१ जनाले नयाँ नागरिकता लिएका छन् । जसमध्ये ४९ जना पुरुष र ३२ जना महिला रहेका छन् ।

त्यस्तै, ३२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा २० जना पुरुष र १२ जना महिला रहेका छन् ।
कार्यालयबाट ११ जनाले राहदानी वितरण सेवा लिएका छन् भने २८ जनाले राहदानीका लागि नाम दर्ता (इनरोलमेन्ट) गराएका छन् । यसैगरी, ६३ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् भने एक जनाले नाबालक परिचयपत्र बनाएका छन् ।

कार्यालयबाट ६ वटा सिफारिस प्रमाणित गरिएको छ भने अन्य निकायमा आठवटा पत्र पठाइएको छ । नागरिक एपमार्फत प्राप्त २० वटा गुनासोसमेत फछ्र्योट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दशैँको बिदामा घर आएका अधिकांश नागरिक चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा सदरमुकाम आएर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिस र कागजात बनाउने गरेका छन् । यसले गर्दा कार्यालयमा सेवाग्राहीको चाप बढेको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिनुभएको छ ।

कतिपय फाँटमा सेवाग्राहीले एकअर्काको पालो नमिचून् भन्ने उद्देश्यले कार्यालयले टोकन प्रणालीसमेत लागू गरेको छ । जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा जिल्ला प्रशासन कार्यालयमा अहिले सेवाग्राहीको चाप बढी रहेको छ ।

तपाईको प्रतिक्रिया