कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्दै

Minakshi Rai
।

खोटाङ। १२ कातिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिबाहेक अन्य सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिनेछन् । सभापति गगनकुमार थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथग्रहण गरिसक्नुभएको छ ।

निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले यसपटकको शपथग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा आयोजना गरिने जानकारी दिनुभएको छ । उहाँका अनुसार नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आजै पदबहालीसमेत गराइनेछ ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनको अन्तिम परिणाम असोज ३० गते सार्वजनिक गरिएको थियो । महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा आयोजना गरिएको थियो भने मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा भएको थियो ।

असोज २३ गते भएको मतदानपछि सोही राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो । सभापतिको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो ।

निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार सात सय मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ । यस निर्वाचनमा करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको उहाँले बताउनुभएको छ ।

कुल २२९ पदका लागि भएको निर्वाचनमा ७७ प्रकारका पद रहेका थिए । प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो । महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित हुनुभएको छ । त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ ।

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन् । महाधिवेशनबाट समावेशी तथा प्राज्ञिक प्रतिनिधित्वलाई समेट्ने नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ ।
शपथग्रहण र पदबहालीपछि आजै सानेपामा नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ । बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।

त्यसैगरी, बैठकमा पार्टीका आगामी जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने नेताहरूले जानकारी दिएका छन् । नयाँ कार्यसमितिको पदबहालीसँगै कांग्रेसले संगठनात्मक गतिविधि र आगामी अधिवेशनसम्बन्धी तयारीलाई अघि बढाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया