खोटाङ, ८ असोज । नेपाली काँग्रेस जिल्ला कार्यसमिति खोटाङले देशभर परिरहेको भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरेको छ । मौसमविद् तथा सम्बन्धित निकायबाट प्राप्त सूचनामा असोज–९ देखि १२ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाइएपछि काँग्रेस खोटाङले सूचना जारी गरेर प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको जनाएको हो ।
देशभर परिरहेको अविरल वर्षाका कारण असोज–१० गतेका लागि निर्धारण गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जिल्ला सचिव समीर राईले जानकारी दिनुभएको छ । मौसमको अवस्था तथा अनुकूलता हेरी अधिवेशनको नयाँ मिति तय गरिने काँग्रेसले जनाएको छ ।
काँग्रेस खोटाङले अविरल वर्षाबाट हुनसक्ने घटनालाई मध्यनजर गर्दै जिल्लावासीलाई सुरक्षित रहन, सचेत बन्न र आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ । नेपाली काँग्रेसले १५ औँ महाधिवेशनअन्तरगत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज–१० गते गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
दश स्थानीय तहको ७९ वडा रहेको खोटाङमा नुनथलाबाहेक सबैमा सर्वसम्मत् नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा क्रियाशील सदस्यता अद्यावधिक छुटेकाले वडा अधिवेशन स्थगित गरिएको काँग्रेसले जनाएको छ ।
असोज–७ गतेका लागि तय गरिएको गाउँ/नगर अधिवेशन पनि सम्पन्न भएको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटेहाङ गाउँपालिकामा सर्वसम्मत् नेतृत्व चयन हुन नसकेपछि अधिवेशन लम्बिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी, साकेला, जन्तेढुङ्गा, रावाबेँसी, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र ऐसेलुखर्क गाउँपालिकामा सर्वसम्मत् नेतृत्व चयन गर्दै काँग्रेसले पालिका अधिवेशन सम्पन्न गरेको छ । हलेसी तुवाचुङमा चक्रकुमार राई, बराहपोखरी गाउँपालिकामा भुवन श्रेष्ठ, साकेला गाउँपालिकामा विजय गुरुङ, जन्तेढुङ्गा गाउँपालिकामा किरण राई, रावाबेँसी गाउँपालिकामा गेहेन्द्रमान राई, केपिलासगढी गाउँपालिकामा होमकुमार राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा डम्बरबहादुर खड्का र ऐसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ सर्वसम्मत् सभापति चयन हुनुभएको हो ।
खोटाङ काँग्रेसमा सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष र निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको इतर पक्षबीच दुई धार देखिएको छ । काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री एवम् प्रदेशसभा सदस्य भूपेन्द्रकुमार राई देउवा पक्षमा र जिल्ला सभापति विष्णुकुमार राई थापा पक्षमा देखिनुभएको छ ।
संस्थापन पक्षको केन्द्रीय निर्वाचन समितिले खोटाङको निर्वाचन सम्पन्न गर्न अधिवक्ता मुक्तिनाथ आचार्यलाई जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । यस्तै, इतर पक्षले जिल्ला प्रवक्ता रोजन राईलाई संयोजक तोकेको छ ।
संस्थापन पक्षले असोज–३ र ४ गते वडा अधिवेशन, असोज–७ गते गाउँ/नगरपालिका अधिवेशन, असोज–१० गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र असोज–१६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यस्तै, इतर पक्षले असोज–१५ गते वडा अधिवेशन, असोज–२० गते पालिका अधिवेशन, असोज–२३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कातिक–१५ गते जिल्ला अधिवेशन र मङ्सिर–४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।


