काँग्रेस खोटाङको आठ पालिकामा सर्वसम्मत नेतृत्व चयन, दुईमा सहमतिको प्रयास

Minakshi Rai

खोटाङ, ७ असोज । नेपाली काँग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनअन्तरगत असोज–७ गतेका लागि निर्धारण गरिएको गाउँ÷नगरपालिका अधिवेशनमा खोटाङका दश पालिकामध्ये आठमा सर्वसम्मत् नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ । हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी, साकेला, जन्तेढुङ्गा, रावाबेँसी, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र ऐसेलुखर्क गाउँपालिकामा सर्वसम्मत् नेतृत्व चयन गर्दै काँग्रेसले पालिका अधिवेशन सम्पन्न गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटेहाङ गाउँपालिकामा भने भोलि नेतृत्व चयन गर्नेगरी सहमतिको प्रयास भइरहेको काँग्रेस खोटाङका सचिव समीर राईले जानकारी दिनुभएको छ । हलेसी तुवाचुङ नगर सभापतिमा चक्रकुमार राई तथा बराहपोखरी गाउँपालिकामा भुवन श्रेष्ठ, साकेला गाउँपालिकामा विजय गुरुङ, जन्तेढुङ्गा गाउँपालिकामा किरण राई, रावाबेँसी गाउँपालिकामा गेहेन्द्रमान राई, केपिलासगढी गाउँपालिकामा होमकुमार राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा डम्बरबहादुर खड्का र ऐसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ सर्वसम्मत् सभापति चयन हुनुभएको हो ।

काँग्रेसको १५ औँ महाअधिवेशनमा सकेसम्म सबै तहमा सर्वसम्मत् नेतृत्व चयन गर्ने पार्टीको मान्यता रहेको सचिव राईले जानकारी दिनुभएको छ । “यसपटकको महाअधिवेशनमा सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो । त्यहीअनुसार खोटेहाङ गाउँपालिकामा साथीहरू आन्तरिक छलफलमै हुनुहुन्छ । आज टुंगो लागेन भने भोलि बिहान फेरि छलफलमा बसेर टुङ्गो लगाउने र त्यसबाट पनि सहमति नभए निर्वाचन प्रक्रियामा जाने साथीहरूले बताएका छन्”, उहाँले भन्नुभयो, “दिक्तेलमा पनि सौहार्दपूर्ण वातावरणमा छलफल भइरहेको छ । भोलि फेरि छलफलमा बस्ने सहमति भएको छ । सर्वसम्मत्को प्रयास असफल भएको खण्डमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट अगाडि बढ्छौँ ।”

काँग्रेस खोटाङमा सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष र निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको इतर पक्षबीच दुई धार देखिएको छ । काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री एवम् प्रदेशसभा सदस्य भूपेन्द्रकुमार राई देउवा पक्षमा र जिल्ला सभापति विष्णुकुमार राई गगन पक्षमा देखिनुभएको छ ।

संस्थापन पक्षको केन्द्रीय निर्वाचन समितिले खोटाङको निर्वाचन सम्पन्न गर्न अधिवक्ता मुक्तिनाथ आचार्यलाई जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । यस्तै, इतर पक्षले जिल्ला प्रवक्ता रोजन राईलाई संयोजक तोकेको छ ।

संस्थापन पक्षले असोज–३ र ४ गते वडा अधिवेशन, असोज–७ गते गाउँ÷नगरपालिका अधिवेशन, असोज–१० गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र असोज–१६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यस्तै, इतर पक्षले असोज–१५ गते वडा अधिवेशन, असोज–२० गते पालिका अधिवेशन, असोज–२३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कातिक–१५ गते जिल्ला अधिवेशन र मङ्सिर–४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया