खोटाङ, ७ असोज । नेपाल बार एसोसिएसन खोटाङ इकाईले जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर सार्वजनिक रूपमा अदालत तथा न्यायाधीशविरुद्ध टीकाटिप्पणी र आलोचना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै असोज–५ गते जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर अदालत तथा न्यायाधीशविरुद्ध सार्वजनिक स्थानमा गरिएका अपमानजनक, असान्दर्भिक टीकाटिप्पणी तथा आलोचनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका परियारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज–५ गते सफाइ दिएपछि पीडित परिवार तथा आफन्तले अदालत परिसरमै आक्रोश व्यक्त गर्दै नाराबाजी गरेका थिए । सोही घटनालाई लक्षित गर्दै नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
जिल्ला अध्यक्ष कुलप्रसाद शर्मा फुयालद्वारा जारी विज्ञप्तिमा अदालतबाट हुने फैसला तथा न्यायिक आदेशमा चित्त नबुझेमा प्रचलित कानूनबमोजिम पुनरावेदन, पुनरावलोकन तथा निवेदनलगायत न्यायिक उपचारका माध्यम अपनाउने अधिकार प्रत्येक पक्षलाई रहेको उल्लेख गरिएको छ । तर, फैसलाप्रति असहमति रहेको भन्दै अदालत वा न्यायाधीशको इज्जत, मानप्रतिष्ठा, चरित्र वा निष्ठामाथि प्रश्न उठाउने, अपमानजनक वा लाञ्छनायुक्त अभिव्यक्ति दिने तथा सम्बन्धित विषयलाई अतिरञ्जित रूपमा प्रचार–प्रसार गर्ने कार्यले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनआस्थामा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
न्यायिक निर्णयप्रति असहमति व्यक्त गर्दा तथ्य र कानूनमा आधारित भएर मात्र धारणा राख्नुपर्ने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको संरक्षण गर्नु सबैको कर्तव्य भएको विज्ञप्तिमा भिनएको छ । रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ–१२ गते पक्राउ परेका बतासेका हेमन परियार, दीपक राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका दीपक श्रेष्ठलाई अदालतले सफाइ दिएको हो ।
उच्च अदालतको आदेशमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुविरुद्धको आरोप प्रमाणित नभएपछि अदालतले सफाइ दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । घटनामा संलग्न रहेको आरोप लागेका बतासेका १६ वर्षीय एक किशोर भने यसअघि नै दोषी ठहर भएर कारबाही भोगिरहेका छन् ।
अदालतबाट दोषी ठहर भएका व्यक्ति १८ वर्षभन्दा कम उमेर भएकाले उनको नाम गोप्य राखिएको छ । दोषी ठहर भएका किशोर अदालतको आदेशमा सुधारगृहमा बसेर सजाय भुक्तान गरिरहेका छन् ।
पीडित पक्षले भने रेश्मिकाको बलात्कारपछि हत्यामा एक जना किशोरको मात्रै नभइ अन्य तीन जनाको समेत संलग्नता रहेको दाबी गर्दै आएको छ । रेश्मिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबीसहित पीडित परिवार तथा दलित अधिकारकर्मीहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
रेश्मिकाको हत्यापछि चरणवद्ध आन्दोल गर्दै आएका उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका वि.सं. २०८२ भदौ–३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीच पर्ने मार्से सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो ।
दिउँसो करिब चार बजे सहकारीको कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गरिएको थियो । खोजी गर्नेक्रममा सडकबाट करिब २०० मिटर तल बाँसघारीमा रेश्मिकाको शव फेला परेको थियो ।
घटनाका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार रेश्मिकाको चप्पल सडकको कुनामा भेटिएको थियो भने सडकदेखि शव भेटिएको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको थियो । झाडी मडारिएको ठाउँभन्दा केही तल रेश्मिकाको झोला र अन्डरवेयरसमेत भेटिएको बताइएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार सबैभन्दा तल रेश्मिकाको शव घाँटीमा कालो सल बेरेको अवस्थामा फेला परेको थियो । अन्डरवेयर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गर्दै आएका छन् । सात वर्षकी एकमात्र छोरीलाई काठमाडौँमा राखेर पढाउँदै श्रीमानसँग घरमा बस्दै आएको अवस्थामा रेश्मिकाको बलात्कारपछि हत्या भएको हो ।


