हर्क साम्पाङको घोषणा : ‘नेपाली जनताको मतबाट प्रधानमन्त्री बन्छु’

Minakshi Rai

खोटाङ, ७ असोज । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।

धनकुटामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आफूलाई प्रधानमन्त्री बन्ने सोच आएको र बन्ने बताउनुभएको हो । कुनै पनि विदेशी शक्तिको दलाली नगरी नेपाली स्वाभिमानी र सार्वभौम जनताको मतबाटै देशको प्रधानमन्त्री बन्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइ भन्नु भएछ । उनको कुरा सुनेपछि आफूलाई प्रधानमन्त्री बन्ने सोच आएको छ,’ ।

उहाँले प्रधानमन्त्री बन्नका लागि विदेशीको पाउमा साष्टाङ्ग दण्डवत् गर्ने वा दलाली गर्ने काम आफूले कहिल्यै नगर्ने दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘भारत, चीन वा कुनै ‘ग्रे जोन’ को आशीर्वादले म प्रधानमन्त्री बन्ने होइन केवल नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्ने हो ।’ आफू प्रधानमन्त्री भएपछि ३ करोड नेपालीका ६ करोड हातलाई एकैसाथ काममा परिचालन गर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया