काँग्रेस खोटाङको वडा अधिवेशन : नुनथलाबाहेक सबै वडामा सर्वसम्मत् नेतृत्व चयन

Minakshi Rai

खोटाङ, ५ असोज । नेपाली काँग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत असोज–३, ४ र ५ गतेका लागि निर्धारण गरिएको वडा अधिवेशनमा खोटाङका ७९ वडामध्ये ७८ वटामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन तालिकाअनुसार असोज–३ गते पहिलो दिन ३४ वडामा अधिवेशन सम्पन्न गरेको काँग्रेस खोटाङले असोज–४ र ५ गते ४४ वडामा वडा अधिवेशन सम्पन्न गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाबाहेक सबै वडामा सर्वसम्मत् नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको काँग्रेस खोटाङका सचिव समिर राईले जानकारी दिनुभएको छ । “नुनथलामा क्रियाशील सदस्य अद्यावधिक गर्न छुटेको रहेछ । त्यो विषय नगर कार्यसमितिले टुङ्ग्याएपछि पुनः मिति तय गरेर वडा अधिवेशन गर्छौँ”, उहाँले भन्नुभयो, “अन्य वडामा तोकिएकै मितिमा वडा अधिवशेन सम्पन्न गरेका छौँ । सबै वडामा सर्वसम्मत् नेतृत्व चयन भएको छ ।”

काँग्रेस खोटाङमा संस्थापन समूह (सभापति गगनकुमार थापा) र इतर (निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा) समूहगरी दुई धार देखिएको छ । काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री एवम् प्रदेशसभा (ख)का सदस्य भूपेन्द्रकुमार राई देउवा समूह र जिल्ला सभापति विष्णकुमार राई गगन समूहमा देखिनुभएको छ ।

संस्थापन समूहले १५ औँ महाधिवेशनका लागि धमाधम वडा अधिवेशन गरिरहँदा इतर समूह कार्यकर्ता छेक्न कसरत गर्दै फोन सम्र्क गरिरहेका थिए । यद्यपि, नुनथलाबाहेक जिल्लाका दशवटै स्थानीय तहको सबै वडाका नेता तथा कार्यकर्ताहरु स्वतःस्फूर्त सहभागी भएर वडा अधिवेशनमा सहभागी भएको संस्थापन समूहले जनाएको छ ।

काँग्रेस संस्थापन पक्षको केन्द्रीय निर्वाचन समितिले खोटाङको निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी अधिवक्ता मुक्तिनाथ आचार्यलाई तोकेको थियो भने, इतर समूहले जिल्ला प्रवक्ता रोजन राईलाई संयोजक तोकेको छ । संस्थापन पक्षले असोज–३ र ४ गते वडा अधिवेशन, असोज–७ गते गाउँ÷नगरपालिका अधिवेशन, असोज–१० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा असोज–१६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन काठमाडौँमा गर्ने तयारी गरेको छ ।

इतर समूहले यही असोज–१५ गते वडा अधिवेशन, असोज–२० गते पालिका अधिवेशन, असोज–२३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कातिक–१५ गते जिल्ला अधिवेशन र मङ्सिर–४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रवक्ता राईलाई संयोजकको रुपमा दिइएको मनोनयनपत्रमा काँग्रेसले स्थापनाकालदेखि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासनका पक्षमा निरन्तर सङ्घर्ष गर्दै लोकतान्त्रिक अभियानको नेतृत्व गर्दै आएको उल्लेख गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको वैधानिक केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको समेत पत्रमा उल्लेख गरिएको छ । महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र आवेग, उत्तेजना, गालीगलौज र षड्यन्त्रभन्दा संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया