खोटाङ, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा पार्टी कमजोर रहेको बताउनुभएको छ ।
सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘म आग्रह गर्छु, विरोधीले खेल्ने यस्ता ठाउँहरू दिनुहुँदैन । स्टाटस लेख्ने, अपलोड गर्ने अनि कमेन्ट गर्ने वा गराउने स्वस्थ तरिका होइन । खुलस्त छलफल पार्टीभित्र नै हुनुपर्छ । अहिले अनुशासनमा कमजोर हाम्रै पार्टी देखिनु भनेको सारै दुःखलाग्दो कुरा हो।’
अध्यक्ष ओलीले सरकारको असक्षमता र राज्यका साधन स्रोतको दुरुपयोग जनताले देखेको दाबी गर्नुभएको छ । उहाँले सरकारले अफवाह फैलाएको आरोपसमेत लगाउनुभएको छ । ‘सरकारको असक्षमता, अकर्मण्यता र राज्यका साधन स्रोतहरूको दुरुपयोग आम जनताले देखेको छ । र अफवाह कसरी राज्यस्तरबाट फैलाइयो त्यो कुरा पनि देखिएको छ,’ उहाँले भन्नुभयो ।
उहाँले बेलिब्रिज निर्माणबारे समेत उदाहरण दिनुहुँदै सामान नआउँदै बेलिब्रिज बनेको भनेर प्रचार गरिएको दाबी गर्नुभएको छ । उहाँले बागमती प्रदेश सरकारले विपद्का बेला गरेको सहयोगको भने प्रशंसा गर्नुभएको छ । ‘बागमती सरकारलाई धन्यवाद भन्न चाहन्छु, बरु तत्काल तुइन हालेर औषधिदेखि सबैथोक ल्याएर जनताको साथमा छौँ भनेर साथ दिए,’ उहाँले भन्नुभयो ।


