खोटाङ, ४ असोज । जिल्ला भलिबल सङ्घ खोटाङको अध्यक्षमा दिलचक्र राई चयन हुनुभएको छ । दिक्तेलबजारस्थित होटल शुभदिनमा आइतबार साँझ सम्पन्न जिल्ला भलिबल सङ्घ खोटाङको दोस्रो साधारणसभा तथा जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा रजिन राई र लालमान राई तथा महासचिवमा गोपाल साम्पाङ राई सर्वसम्मत् चयन हुनुभएको निवर्तमान अध्यक्ष धनकुमार राईले जानकारी दिनुभएको छ । त्यस्तै, नव गठित जिल्ला भलिबल सङ्घको जिल्ला कार्यसमिति सदस्यहरूमा शुकदेव राई, सुजन राई, मनिषा विश्वकर्मा, किरण वालेम राई, धनन्जय राई र विशाल राई चयन हुनुभएको छ ।
समितिको कोषाध्यक्ष पद भने, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट महिला प्रतिनिधिलाई मनोनित गरेर पूर्ति गरिने जनाइएको छ । भलिबल सङ्घको विधानअनुसार जिल्ला खेलकुद विकास समिति खोटाङले नयाँ कार्यसमितिमा थप दुईजना सदस्य मनोनित गर्ने प्रावधान रहेको जनाइएको छ ।
जिल्ला भलिबल सङ्घको नवनिर्वाचित जिल्ला अध्यक्ष राईले नेपालको राष्ट्रिय खेल भलिबललाई जिल्लामा व्यवसायिक खेलको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजुको प्रमुख आतिथ्यता तथा भलिबलका अन्तर्राष्ट्रिय रेफ्री चन्द्रबन्दना राईको विशेष आतिथ्यता जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।
नेपाल सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा वि.सं. २०७४ जेठ–९ गते घोषणा गरेपनि जिल्लामा व्यवसायिक खेल भएका छैनन् । जिल्ला भलिबल सङ्घ खोटाङमा नयाँ कार्यसमिति चयन भएसँगै भलिबल खेलका थप गतिविधि हुने अपेक्षा गरिएको खेलाडीहरुले बताएका छन् ।


