खोटाङ, ४ असोज । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा सुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा आफ्नो कुनै पनि किसिमको सहभागिता नरहने स्पष्ट पार्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहँुदै पूर्वउपसभापति खड्काले थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक हुने दाबी गर्नुभएको छ ।
विशेष महाधिवेशन, त्यसबाट निर्वाचित सभापति र कार्यसमिति विधान, राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगका स्थापित नजिरविपरीत रहेको दाबी गर्नुहुँदै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू प्रक्रियाबाट बाहिरै रहेको उहाँले बताउनुभएको छ । यसअघि पनि थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु अनैतिक हुने ठानेरै आफूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिएको खड्काको भनाइ छ ।
सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसलामा त्रुटि रहेको भन्दै पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएको र उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा अर्को पक्षले महाधिवेशन सुरु गरेको खड्काको तर्क छ । मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन रोक्न माग गर्दै परेको निवेदनमा सर्वोच्चले रोक लगाउन अस्वीकार गरेपछि नेपाली कांग्रेसका नाममा दुईवटा महाधिवेशन हुने परिस्थिति सिर्जना भएको उहाँले उल्लेख गर्नुभएको छ । “अब कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,” खड्काले भन्नुभएको छ, “ऐतिहासिक पार्टी विभाजन भएमा कांग्रेसलाई मात्र नभई समग्र लोकतन्त्रमै भयानक दुष्परिणाम पर्न सक्छ ।”
पार्टी विभाजन रोक्न अन्तिम प्रयास भइरहेको उल्लेख गर्नुहुदैँ खड्काले सर्वोच्च अदालतसमक्ष कांग्रेसको पुनरावलोकन मुद्दासम्बन्धी विषयलाई अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला सुनाउन सादर अनुरोधसमेत गर्नुभएको छ । सर्वोच्च अदालतबाट आउने अन्तिम फैसला आफूहरूका लागि स्वीकार्य हुने उहाँले प्रस्ट पार्नुभएको छ ।


