खोटाङ, ३ असोज । जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दशैँ अगाडि जिल्लाका सबै सडक सडक मर्मतगरी यातायातका साधनयोग्य बनाउन आग्रह गरेको छ । नजिकिँदै गरेको दशैँ÷तिहार तथा छट पर्वको अवसर पारेर आवतजावत गर्ने स्थानीयको सहजताका लागि सबै सडकमा यातायात सञ्चालन गर्न योग्य बनाउन स्थानीय तह र सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापन गर्ने÷गराउने निर्णय गरेको हो ।
मध्यपहाडी लोकमार्ग बाहेक सबै ग्रामीण सडक कच्ची अवस्थामा रहेको र वर्षाद् सुरु हुनासाथ अवरुद्ध बनेका छन् । दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहको वडा–वडामा ग्रामीण सडक पुगेपनि कालोपत्र नहुँदा हिउँद्को समयमा करिब छ महिनामात्र यातायातका साधन सञ्चालन हुने गरेको छ ।
जिल्लामा निर्माण गरिएका ग्रामीण सडकलाई तत्काल मर्मत गरेर दशैँ अगाडि नै सञ्चालनमा ल्याइएको खण्डमा धेरै जिल्लावासीले राहत महसुस गर्ने भएकाले सम्बन्धित निकायले मर्मत गर्ने÷गराउने निर्णय गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिनुभएको छ । “आफ्नो क्षेत्रको सडक निर्माण, मर्मत तथा सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित पालिको हो । यसमा हामी पनि समन्वय गर्ने काम गर्छौँ”, उहाँले भन्नुभयो, “चाडपर्व मान्न आफ्नो गाउँ आएका कुनै पनि व्यक्तिले दुःख पाउनु भएन । अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रशासनको तर्फबाट सक्दो सहयोग उपलब्ध हुनेछ ।”
नजिकिँदै गरेको दशैँ÷तिहार तथा छट पर्वको समयमा मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी–जयरामघाट सडकखण्डलाई समेत २४ सै घण्टा सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभएको छ । खोटाङसहित छिमेकी जिल्ला भोजपुरका स्थानीयवासीले समेत प्रयोग गर्दै आएको यो सडक मर्मत÷सम्भारका लागि मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट–दिक्तेल सडक आयोजना र सम्बन्धित पालिकाले समन्वय तथा आवश्यक सामग्रीसहित व्यवस्थापन गर्ने÷गराउने निर्णय गरिएको छ ।
प्रशासनको सभाहलमा आयोजना गरिएको विपद् व्यवस्थापन समितिको बैठकले खोटाङ जिल्लाको विभिन्न पालिकामा निजी आवास पुनः निर्माण तथा प्रवलीकरणका लागि प्राप्त भएको दोस्रो किस्ता वापतको रकम अनुमोदन गर्ने निर्णय गरेको छ । निजी आवास पुनः निर्माण तथा प्रवलीकरणका लागि दोस्रो किस्तावापत रु. तीन लाख ४० हजार रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ निवासी सुबिन श्रेष्ठ र कुमार श्रेष्ठलाई वितरण भएकोले अनुमोदन गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभएको छ ।
यस्तै, गत साउन–१५ र २५ गते तथा भदौ–१ गते आएको अविरल वर्षाको कारण क्रमश दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, वडा नं. १० पाथेका र वडा नं. ११ खार्मीमा सडक तथा बाटोमा लगाएको तटबन्धमा क्षति पुयाएको हुँदा मर्मतका लागि बजेट व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, विराटनगरमा गरिएको सिफारिसलाई अनुमोदन गरिएको छ । जिल्लामा हुनसक्ने विपद्को घटनाको प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पक्षको सहभागितामा व्यवहारिक अभ्यास गर्ने निर्णय गरिएको छ ।


