खोटाङ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दश तिहारपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गनुहुँदै सरकारप्रति जनआक्रोश बढ्दै गएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ । त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ । सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ । त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ ।’
उहाँले विभिन्न पार्टीसँग, बुद्धिजीवीसँग, नागरिक समाजसँग लगातार छलफल भइरहेको बताउनुभएको छ । ‘नेपालमा ठूला–ठूला चाडपर्वको अगाडि छौँ । चाडपर्वका यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ । चाडपर्व पछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ ।’
उहाँले जिम्मेवारीपूर्वक ठूलो छाती बनाएर सबैलाई समेट्नुपर्ने बताउनुभएको छ ।


