विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौँ : प्रकाशमान सिंह

Minakshi Rai

खोटाङ, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताउनुभएको छ ।

२९ औं गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले पार्टीभित्र विधिको शासन र आन्तरिक लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । पार्टीभित्र देखिएको पछिल्लो विवाद र महाधिवेशनका सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले कांग्रेस विधान र संविधानको दायराभित्रै रहेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै विधिसम्मत रूपमा १५ औं महाधिवेशन गराउनुपर्ने उहाँको अडान छ । ‘नेपाली कांग्रेस पार्टी विधिको शासन स्थापित गर्नका लागि जन्मिएको हो, तर पार्टीभित्रै विधिको शासनलाई तोडमोड गर्दा चुप लागेर बस्न सकिँदैन,’ नेता सिंहले भन्नुभयो, ‘विधानलाई मिचेर जबर्जस्ती विशेष महाधिवेशन गरी अघि बढ्न खोज्नु गलत हो । यस्ता अलोकतान्त्रिक अभ्यासले पार्टीभित्र अधिनायकवाद जन्माउँछ ।’

केही नेताहरूले धार परिवर्तन गरेको विषयमा टिप्पणी गर्नुहुदै उहाँले इतिहासमा पनि यस्ता विचलन देखिने गरेको स्मरण गराउनुभएको छ । २०१७ सालको ‘कू’ पछि कतिपय नेताहरू व्यक्तिगत सुविधा र पदका लागि पञ्चायत प्रवेश गरे पनि बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरूले सिद्धान्त र निष्ठाको राजनीति नछोडेको उहाँले उल्लेख गर्नुभएको छ ।

निष्ठाको राजनीति भाषणमा नभई व्यवहारमै कठिन हुने भन्दै उहाँले आफूहरू मूलभूत सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ ।

अदालतमा दायर रिट खारेज भएको प्रसंगमा उहाँले कानुनी र राजनीतिक मुद्दा फरक हुने बताउनुभएको छ । ‘स्वतन्त्र न्यायपालिकाको निर्णयलाई हामी सम्मान गर्छौँ, तर राजनीतिक एजेन्डाको फैसला पार्टीले नै गर्ने हो,’ उहाँले भन्नुभयो, ‘पार्टी विधानअनुसार चार वर्ष र विशेष परिस्थितिमा एक वर्ष थप गरी पाँच वर्ष तथा संविधानअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । हामी यही व्यवस्थाअनुसार नै अघि बढ्छौँ, महाधिवेशन रोकिँदैन ।’

यसअघि सम्बोधनका क्रममा नेता सिंहले लौहपुरुष गणेशमान सिंहको जन्मस्थानबारे सञ्चारमाध्यममा भ्रम रहेको भन्दै सच्याउन आग्रह गर्नुभएको छ ।

गणेशमान सिंह क्षेत्रपाटी चाक्सीबारी नभई येँखा घरमा जन्मनुभएको र चाक्सीबारीको घर २००९ सालमा किनेर परिवार पछि सरेको उहाँले जानकारी दिनुभएको छ ।

गणेशमान सिंहले देश र जनताको अधिकारका लागि ६ दशक लामो राजनीतिक जीवनमा ३० वर्षभन्दा बढी समय जेल र निर्वासनमा बिताएको तथा २०४६ सालको जनआन्दोलनपछि राजाले दिएको प्रधानमन्त्री पद समेत त्याग गरेर कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको इतिहासबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने उहाँले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया