खोटाङ, २ असोज । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शुक्रबारदेखि सुरु हुने वडा अधिवेशन नरोकिने बताउनुभएको छ । उहाँले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै शेरबहादुर देउवा पक्षलाई समेत समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।
लामो समय शेरबहादुर देउवाको साथमा रहनुभएका विश्वकर्मा बिहीबार गगन थापा नेतृत्वको कांग्रेसमा आउनुभएको थियो । त्यसपछि उहाँले पार्टी एकताका लागि निरन्तर पहल भइरहेको बताउनुभएको छ । विश्वकर्माले वडा अधिवेशन भने निर्धारित समयमै अघि बढ्ने बताउनुभएको छ । उहाँले क्षेत्रीय अधिवेशनसम्ममा पार्टीभित्रको विवाद समाधान हुने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ ।
‘भोलिबाट सुरु हुने वडाको अधिवेशन रोकिँदैन । ७/८ गतेसम्ममा केही कुरा मिल्छ भन्ने तहमा छलफल जारी छ । गगनजी पनि पार्टी एकताका निम्ति तयार हुनुहुन्छ, शेरबहादुर दाइ पनि तयार हुनुहुन्छ। तर, बीचमा केही शक्तिहरूमा समस्या देखिएको हो। त्यो टुंगिएर जान्छ,’ विश्वकर्माले भन्नुभयो ।
उहाँले आफूहरू देउवाको साथ छाडेर गगन थापा नेतृत्वको कांग्रेसमा आउनुको उद्देश्य नै पार्टीलाई एकताबद्ध बनाउनु रहेको दाबी गर्नुभएको छ ।
‘हामीहरू पार्टी मिलाउनका लागि नै देउवा दाइको साथ छोडेर आएका हौँ। उहाँलाई गलत ठानेर हिँडेका होइनौँ। किनकि अब उहाँ नेतृत्वमा आउने विषय छैन। उनलाई सम्मानपूर्वक पार्टीमा राख्ने विषय मात्र हो,’ उहाँले भन्नुभयो ।
विश्वकर्माका अनुसार कांग्रेसभित्र एकताको वातावरण बनाउन दुवै पक्षबीच निरन्तर संवाद भइरहेको छ । उहाँले बीचमा देखिएका केही असमझदारी समाधान भएपछि पार्टी एकताको प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।


