पूर्वप्रधानाध्यापक थापाद्वारा ६२ विद्यार्थीलाई न्यानो कपडा ट्र्याकसुट प्रदान
खोटाङ, ७ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई ट्र्याकसुट प्रदान गरिएको छ । विद्यालयकी पूर्वप्रधानाध्यापक बिन्दा थापाले आफ्नो व्यक्तिगत खर्चमा काठमाडौँमा खरिदगरी ल्याएर बाल विकास केन्द्रदेखि कक्षा– ८ सम्म अध्ययनरत विद्यार्थीलाई ट्र्याकसुट प्रदान गर्नुभएको हो ।
शिक्षण पेसाबाट अनिवार्य अवकाश हुनुभएकी पूर्वप्रधानाध्यापक थापाले रु एक लाख २३ हजार ५०० बराबरको ट्र्याकसुट विद्यार्थीलाई वितरण गर्नुभएको विद्यालय प्रशासनले जानकारी दिएको छ । विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो पूर्वविद्यार्थी ट्र्याकसुट वितरण गरिएको पूर्वप्रधानाध्यापक थापाले बताउनुभएको छ ।
विद्यार्थीका लागि आवश्यक पोसाक तथा शैक्षिक सामग्रीको अभाव हुँदा नियमित विद्यालय उपस्थितिमा समेत असर पर्न सक्ने भएकाले आफूले व्यक्तिगत खर्चमा ट्र्याकसुट प्रदान गरेको पूर्वप्रधानाध्यापक थापाले जानकारी दिनुभएको छ । “अरूले विद्यार्थीलाई आवश्यक सामग्री तथा पोसाक उपलब्ध गराइदिने भन्दै आश्वासन मात्रै दिने गरेको थियो । त्यसैले आश्वासनमा मात्र सीमित नरही आफ्नै व्यक्तिगत खर्चमा विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराएकी हुँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि आफूले सकेको सहयोगलाई निरन्तरता दिनेछु । मेरो सानो सहयोगले उनीहरुको शैक्षिक उन्नयनमा थोरै भए पनि हौसला मिल्ने अपेक्षा गरेकी छु ।”
विद्यालय प्रशासनकाअनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पोसाक तथा शैक्षिक सामग्री जुटाउन कठिन हुने भएकाले यस्तो सहयोगले उनीहरूलाई प्रत्यक्ष राहत पुग्नेछ । साथै, विद्यार्थीमा विद्यालयप्रतिको आकर्षण र नियमित उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने विद्यालयको अपेक्षा छ ।
पूर्वप्रधानाध्यापक थापाले विद्यालयमा ३४ वर्ष सेवा गर्नुभएको जनाइएको छ । जसमा १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो भने, विद्यालयबाट अवकाश लिएपछि स्थानीयवासी र विद्यार्थीप्रतिको आत्मीयतालाई निरन्तरता दिँदै आउनुभएको विद्यालय प्रशासनले जनाएको छ ।
पूर्वप्रधानाध्यापक थापाले ट्र्याकसुट उपलब्ध गराउनुभएपछि विद्यार्थीसमेत उत्साहित बनेका छन् । ट्र्याकसुट वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमचन्द्र थापाको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का वडाध्यक्ष ध्रुवबिक्रम राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तस्वीर उपलब्ध छ ।


