१७ भदौ, खोटाङ । सभामुख डोलप्रसाद अर्यालले मुलुकमा बारम्बार दोहोरिने प्राकृतिक विपद्को सामना गर्न विपद्पछिको व्यवस्थापन मात्र नभई पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले भौगोलिक विविधता र जलवायु परिवर्तनका कारण नेपाल विपद्को उच्च जोखिममा रहेको भन्दै राज्यको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
सभामुख अर्यालले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले बाढीमा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
आफ्नो ज्यानको जोखिम मोलेर खोज तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूलाई सभामुखले विशेष धन्यवाद दिनुभएको छ । साथै, सङ्कटको घडीमा प्राविधिक जनशक्ति र राहत सहयोग उपलब्ध गराउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्ने र हिमताल विस्फोटको जोखिम बढेको उल्लेख गर्दै सभामुख अर्यालले यस विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो आवाज बलियो बनाउनुपर्ने बताउनुभएको छ । ‘जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो मुद्दा स्थापित गराउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।
सभामुख अर्यालले बाढी प्रभावितहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विशेष गरी महिला र बालबालिकाको सुरक्षा र सेवामा सहज पहुँच सुनिश्चित गर्न उहाँले निर्देशन दिनुभएको छ ।
उहाँले राष्ट्रिय शोकको यस घडीमा तीनै तहका सरकार, राजनीतिक दल र नागरिक समाजलाई एकजुट भई विस्थापितहरूको पुनर्स्थापना र घाइतेहरूको उचित उपचारमा जुट्न नेपाल सरकारलाई निर्देश गर्नुभएको छ । उहाँले हिमताल र हिमनदीहरूको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्न समेत सरकारलाई सुझाव दिनुभएको छ ।


