खोटाङ, ५ भदौ । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका एक शिक्षक र उत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई पुरस्कृत तथा चारजनालाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शुभशेर राईको तथा सम्झनामा परिवारका १९ सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरिएको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट शुक्रबार पुरस्कृत तथा सम्मान गरिएको हो ।
‘शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’बाट साकेला माध्यमिक विद्यालय रतन्छामा कार्यरत साकेला गाउँपालिका–३ खिदिमा निवासी शिक्षक इन्द्रकुमार तामाङ पुरस्कृत हुनुभएको छ । प्रतिष्ठानले स्वर्गीय शिक्षक राईको पाचौँ वार्षिक पुण्यतिथि तथा चौथो वार्षिक साधारणसभाको अवसर पारेर दिक्तेलमा आयोजना गरेको कार्यक्रममा शिक्षक तामाङलाई नगद रु ५५ हजार ५५५ राशिको पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद खनालले जानकारी दिनुभएको छ ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८३’बाट सरस्वती माध्यमिक विद्यालयका शिक्षक टंक कटुवाल सम्मानित हुनुभएको छ । ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्मान–२०८३’बाट हिमालय माध्यमिक विद्यालय सोल्माका अध्यक्ष सप्तमणि राई र ‘शुभशेर राई जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८३’बाट लक्ष्मी माध्यमिक विद्यालय काहुलेका प्रधानाध्यापक कृष्णबहादुर राई सम्मानित हुनुभएको हो ।
‘शुभशेर राई दीर्घसेवी शिक्षक सम्मान–२०८३’बाट जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्याक झमप्रसाद आचार्य सम्मानित हुनुभएको छ । यस्तै, ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८३’बाट चम्पावती माध्यमिक विद्यालय बुइपाको कक्षा–७ मा अध्ययनरत छात्र आनन्द श्रेष्ठलाई रु सात हजार ७७७ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रिय सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री उषाकला राई, प्रतिष्ठानका अध्यक्ष देवबिक्रम राई लगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । पाँचौँ वार्षिक पुण्यतिथि तथा चौथौ साधारणसभा कार्यक्रममा स्वर्गीय शिक्षक राईको तस्वीरमा माल्यार्पणसमेत गरिएको थियो ।
वार्षिक पुण्यतिथि तथा पुरस्कार वितरण कार्यक्रम समापनको अवसरमा स्वर्गीय शिक्षक राईका परिवारका सदस्यले वार्षिक कमाइको शून्य दशमलव पाँच प्रतिशत जम्मा गर्दा सङ्कलन भएको रु ९० हजार रकम प्रतिष्ठानलाई उपलब्ध गराएका छन् । स्वर्गीय शिक्षक राईको जेठा छोरा देवबिक्रम अध्यक्ष रहेको ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ वि.सं. २०७९ साउन–३० गते जिल्ला प्रशासन कार्यालय खोटाङमा दर्ता गरिएको थियो ।
वि.स. २००७ साद भदौ–२५ गते जन्मनुभएका स्वर्गीय शिक्षक राईको वि.स. २०७८ साल भदौ–५ गते बुइपास्थित आफ्नै घरमा निधन भएको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङका पूर्व अध्यक्षसमेत रहनुभएका स्वर्गीय शिक्षक राईले खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित विणा माविबाट शिक्षण सेवा सुरु गरेर जिल्लाका विभिन्न विद्यालयमा सेवा गर्नुभएको जनाइएको छ ।


