भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन् : युवराज दुलाल

Minakshi Rai

४ भदौ, खोटाङ । नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले भ्रष्टाचार बढी हुनुमा कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालय जिम्मेवार रहेको बताउनुभएको छ ।

‘भ्रस्टाचारको ट्रेन्ड र ट्रेन्डेन्सी कसरी अगाडि बढिराखेको छ भन्ने जिज्ञासा छ,’ उहाँले भन्नुभयो, ‘यसमा म तीनवटा निकायलाई सँगै जोड्न चाहन्छु । किनभने हाम्रो साझा दायित्व भनेको भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने हो। यो अख्तियारको एकल दायित्व त हुँदै होइन ।’

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले अख्तियार प्राप्त संस्था, जिम्मेवारी प्राप्त संस्था र नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था अख्तियार भएको बताउनुभएको छ ।

प्रधानमन्त्री र कार्यपालिकाको टिम बलियो भयो, सुशासनप्रति व्यावहारिक रुपमा प्रतिबद्ध भयो भने भ्रष्टाचारजन्य घटनाहरु घट्ने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘न्यायपालिका जिम्मेवार भयो र उसले सुशासन कायम गर्न चाह्यो भने दोषीहरुलाई कारबाही हुन्छ । महालेखा कार्यालयले सही परीक्षण गरिदियो भने दोषीहरु उम्किँदैनन्, प्रमाणहरु स्थापित हुन्छन्। तर अहिले मेरो अनुभव र ज्ञानले यो तीनवटा निकायमा समस्या छ ।’

उहाँले थप्नुभयो, ‘भ्रष्टाचार बढी हुनुमा कार्यपालिका जिम्मेवार छ, न्यायपालिका पनि जिम्मेवार छ, र महालेखा परीक्षकको कार्यालय पनि जिम्मेवार छ । यो ब्ल्याक एन्ड ह्वाइट अथवा यो ढोकाले छेकेजस्तो हो यो–कसैले स्वीकारे पनि नस्वीकारे पनि ढोकाले छेकेजस्तो हो ।’

तपाईको प्रतिक्रिया