ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

Minakshi Rai

खोटाङ, ४ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक कारबाही’ सुरु गर्ने घोषणा गर्नुभएको छ । दुई देशबीच वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत दिने जुनसुकै मुलुकले पनि कडा वित्तीय कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत जानकारी दिनुहुदैँ राष्ट्रपति ट्रम्पले अमेरिकाको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको स्पष्ट पार्नुभएको छ । यद्यपि, उहाँले भविष्यमा कुनै मोडमा इरानसँग पुनः वार्ता हुन सक्ने सम्भावनालाई भने खुला नै राख्नुभएको छ ।

विश्लेषकका अनुसार ट्रम्पको पछिल्लो वक्तव्यमा सैन्य कारबाही वा सैन्य शक्तिको प्रयोगबारे कुनै उल्लेख गरिएको छैन । यसअघिका सातामा सैन्य आक्रमणको चेतावनी दिँदै आएका ट्रम्पले यसपटक भने पूर्ण रूपमा ‘आर्थिक नाकाबन्दी’ र रणनीतिक घेराबन्दीमा ध्यान केन्द्रित गर्नुभएको छ ।

इरानको तेल निर्यात ठप्प पार्न रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अघि बढाइएको कदमसँगै अमेरिकाले थप कडा आर्थिक नीति लिने संकेत गरेको छ । तर, इरानसँग व्यापार वा सम्बन्ध राख्ने अन्य तेस्रो मुलुकहरूमाथि कस्तो प्रकारको कारबाही हुन्छ भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

तपाईको प्रतिक्रिया