खोटाङ, ४ भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बित्यो । दिक्तेल बजारका स्थानीय समुदायको संस्कारसँग जोडिएको ऐतिहासिक चौतारा भएको ठाउँ सम्याएर चौतारासँगै जोडिएको व्यक्तिको जग्गामा स्थानीयले पक्की घर बनाएर बसेपछि सार्वजनिक चौतारा गायब भएको हो ।
करिब २०० वर्ष पुरानो सार्वजनिक चौतारासँगै रहेको मूलधारा नामले परिचित भने, अहिले पनि कायम छ । परापूर्वकालदेखि स्थानीय नागरिकले खान, नुहाउन तथा संस्कारका काममा उपभोग गर्दै आएको ढुङ्गे धारालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरेको छ ।
ढुङ्गे धारासँगै जोडिएको सार्वजनिक चौतारा भएको ठाउँमा दुई कित्ता सार्वजनिक जग्गा देखिएको छ । एक कित्ता सार्वजनिक चौतारा र अर्को कित्ता सार्वजनिक धाराको नाममा भूमि प्रशासन कार्यालय (तत्कालीन जिल्ला मालपोत कार्यालय) खोटाङमा दर्ता छ ।
कित्ता नम्बर २९६ मा रहेको सात आना तीन दाम दुई पैसा क्षेत्रफल जग्गा सार्वजनिक चौतारा तथा कित्ता नं. १११२ मा रहेको नौँ आना दुई पैसा क्षेत्रफल जग्गा सार्वजनिक धाराको नाममा दर्ता भएको देखिएको छ । सार्वजनिक धारा तथा चौतारा साविक दिक्तेल गाउँ विकास समिति (गाविस)को वडा नम्बर–२ र ३ सीमाना तथा हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा पर्छ ।
सार्वजनिक चौतारा नजिकै रहेको व्यक्तिगत जग्गामा स्थानीय नारायणकाजी श्रेष्ठले वि.सं. २०७८ सालमा पक्की घर निर्माण गरेर चौताराको नाममा रहेको जग्गालाई आँगन बनाएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले जानकारी दिनुभएको छ । “हाम्रो संस्कारसँग जोडिएको सार्वजनिक चौतारा अतिक्रमण भएको छ । यसमा अघिल्लो स्थानीय सरकारका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीको मिलेमतो देखिएको छ”, उहाँले भन्नुभयो, “आफूहरुले वर्षौँदेखि प्रयोग गर्दै आएको जग्गामा संस्कार गर्न जाँदा घरधनीले दुव्र्यवहार गर्दै आएका छन् । यो समस्या स्थानीयस्तरमा समाधान नहुने देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने तयारीमा छौँ ।”
दिक्तेल बजारस्थित हस्पिटल चोकमा सार्वजनिक चौताराको जग्गा अतिक्रमण गरेर निजी प्रयोजनमा ल्याएको भन्दै स्थानीयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा वि.सं. २०८३ असार–२९ गते गुनासो तथा साउन–७ गते उजुरी दर्ता गराएको बुझिएको छ । नेपाल सरकारमा उजुरी पुगेपछि तत्काल अतिक्रमण भएको जग्गाको विषयमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट जिल्ला प्रशासन कार्यालय खोटाङमा निर्देशनसमेत आएको समाचार स्रोतले बताएको छ ।
यता, सार्वजनिक जग्गा अतिक्रमणको आरोप लागेको नारायणकाजी श्रेष्ठले भने आफूले चौताराको नाममा रहेको सार्वजनिक जग्गा नमिचेको बताउनुभएको छ । “मैले आफ्नो पाँच आना तीन पैसा एक दाम जग्गाभित्र घर निर्माण गरेको हुँ । सार्वजनिक चौतारा रहेको जग्गामा अहिले दिक्तेल–लफ्याङ सडक छ”, उहाँले भन्नुभयो, “आफ्नो जग्गामा घर बनाएर बस्दा पनि साथीहरुले दुःख दिइरहेका छन् । म पनि सामाजिक गुठीको सदस्य हुँ । यही संस्थाको नामबाट मलाई पटक–पटक दुःख दिएपछि गत साउन–२१ गते विपक्षीको नाममा जिल्ला अदालत खोटाङमा मुद्धा दर्ता गराएको छु ।”
दिक्तेल बजारका नेवार, बस्नेत, खड्का र दमाई समुदायको धर्म÷संस्कारसँग जोडिएको सार्वजनिक चौतारा रातारात गायब भएको विषयमा आफूहरुले उसबेलादेखि नै कुरा उठाएको उनीहरुले बताएका छन् । नारायणकाजीको घर निर्माण गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन जनप्रतिनिधिको मिलेमतोमा रातारात चौतारा र वरपीपलको रुख हटाइएको स्थानीयको आरोप छ ।
सार्वजनिक चौतारोमा स्थानीय नेवार, बस्नेत, खड्का र दमाई समुदायले आफ्नो संस्कारअनुसार कसैको मृत्यु हुँदा बाह्र दिनसम्म गरिने काजकिरिया, पितृकार्य, धार्मिक तथा सामाजिक संस्कार गर्दै आएका थिए । नेवार समुदायले हरेक वर्ष मनाउने जात्रा पनि सोही ठाउँमा सेलाउने (बिसर्जन गर्ने) परम्परा छ ।
सार्वजनिक चौतारो भत्काएपछि सोही ठाउँमा कटेरो बनाएर नेवार समुदायले परम्परागतरुपमा आफूहरुले गर्दै आएको मृत्यु संस्कार गर्दासमेत घरधनीले अपशब्द बोलेर गाली गर्ने गरेको दिक्तेल बजार सामाजिक गुठीका सचिव सरोज सैँजूले जानकारी दिनुभएको छ । त्यो बेला आफूहरुलाई गाली गर्दै भिडियोसमेत सामाजिक सञ्जालमा राखेको पाइएको र अहिले त्यो भिडियो हटाइएको पाइएको छ ।
आफ्नो संस्कारसँग जोडिएको सार्वजनिक चौतारो प्रयोग गर्न नपाइएको भन्दै दुई वर्षअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा निवेदन परेपछि दुवै पक्षबीच छलफल गराएर वि.स. २०८१ भदौ–७ गते निर्णयसमेत भएको पाइएको छ । स्थानीयलेले हरेक दिन उक्त स्थानमा आफ्नो संस्कारअनुसार खाना पकाएर खाने गरेको, नेवार जातिको जात्रा सोही स्थानमा सेलाउने गरेको पाइएकाले उक्त सार्वजनिक जग्गा दिक्तेल बजार सामाजिक गुठीले संरक्षण गर्ने र पराम्परागतरुपमा गर्दै आएको संस्कार गर्न पाउने गरी न्यायिक समितिले निर्णय गरेको हो ।
दिक्तेल बजार सामाजिक गुठीको संरक्षणमा रहनेगरी पाटी तथा चौतारा निर्माण गर्ने र स्थानीय समुदायले भोगाधिकार गर्न पाउने अधिकार नगरपालिकाको न्यायिक समितिमार्फत लिखितरुपमा दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विशन राईले बताउनुभएको छ । न्यायिक समितिको निर्णयपछि दिक्तेल बजारस्थित नेवार समुदायले दुवै कित्ताको जग्गामा काजकिरियाको दशौँ, एघारौँ र बाह्रौँ दिनको संस्कार गर्दै आएको छ ।


