खोटाङ, १९ असोज । नेपाली कांग्रेसले पार्टीको सांगठनिक संरचनामा फेरबदल गर्दै केन्द्रीय पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनमार्फत पदाधिकारी थप गर्ने प्रस्ताव अघि बढाएको हो। उक्त प्रस्ताव अब महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ। बन्दसत्रबाट विधान संशोधन पारित भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।
नयाँ व्यवस्थाअनुसार कांग्रेसमा अब चार जना उपसभापति रहनेछन्। चारमध्ये एक पद वरिष्ठ उपसभापतिका रूपमा रहनेछ। त्यस्तै उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी महामन्त्रीको संख्या पनि बढाएर तीन जना बनाउने निर्णय भएको छ। तीनमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। उपसभापति र महामन्त्री सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्न लागिएको छ।
कांग्रेसले सहमहामन्त्रीको संख्या पनि बढाउने भएको छ। हाल ११ जना रहेको सहमहामन्त्रीको संख्या १३ पुर्याउने प्रस्ताव अघि सारिएको छ। प्रस्तावित व्यवस्थाअनुसार आठ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र तीन जना सभापतिबाट मनोनीत हुने व्यवस्था रहनेछ।
यसअघि कांग्रेसको विधानमा दुई जना उपसभापति र दुई जना महामन्त्री रहने व्यवस्था थियो। विशेष महाधिवेशनबाट तीन जना सहमहामन्त्री थपिएपछि पदाधिकारी संख्या १७ पुगेको थियो। अहिले फेरि विधान संशोधन गर्दै संगठनमा थप पद सिर्जना गर्न लागिएको हो ।
पदाधिकारी थप गर्ने निर्णयसँगै कांग्रेसले केन्द्रीय कार्यसमितिको आकारसमेत विस्तार गर्ने तयारी गरेको छ। युवा तथा विभिन्न समूहको प्रतिनिधित्व बढाउने विषयलाई पनि संशोधित विधानमा समेट्ने तयारी गरिएको छ। विशेषगरी ३५ वर्षमुनिका युवालाई पार्टीको केन्द्रीय संरचनामा थप अवसर दिने व्यवस्था यसअघि नै प्रस्ताव गरिएको थियो।
पदाधिकारीको संख्या बढाउने निर्णयलाई कांग्रेसभित्र बढेको नेतृत्व आकांक्षा व्यवस्थापनसँग जोडेर हेरिएको छ। १५औँ महाधिवेशनमा विभिन्न पदका आकांक्षीको संख्या बढेपछि उनीहरूलाई समेट्न पार्टीले संगठनात्मक संरचना विस्तार गरेको नेताहरूले बताएका छन्।


