विदेशबाट फर्किएर साँगीतिक दुनियाँमा भविष्य खोजीरहनुभएका केशव भावुक

Halesi Khabar

खोटाङ, ५ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक साँगीतिक क्षेत्रमा लाग्नुभएको नौँ वर्ष लाग्यो । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष युएई (दुबाई) बसेर वि.सं. २०७४ सालमा स्वदेश फर्कुनुभएका गायक तथा सँगीतकार भावुकले काठमाडौँ बसेर दर्जनौँ गीतमा स्वर भरिसक्नुभएको छ ।

नेपाली साँगीतिक दुनियाँका चर्चित गायिका मेलिना राईसँग पहिलो गीत ‘छाडे पनि यो हावा बहन’ बोलको गीतमा युगल स्वर दिएर साँगीतिक यात्रा सुरु गर्नुभएका गायक तथा सँगीतकार भावुकले चार वर्ष नबित्दै दुबाईमा आयोजित एक कार्यक्रममा ‘ग्लोबल अन्तर्राष्ट्रिय अवार्ड–२०२१’ प्राप्त गर्नुभयो । चर्चित गायिका अस्मिता अधिकारीसँग गायक तथा सँगीतकार भावुकले गाउनुभएको ‘फूल फुल्यो’ बोलको गीतले दुबाईमा ग्लोबल अन्तर्राष्ट्रिय अवार्ड–२०२१ अवार्ड जितेको हो ।

पछिल्लो समयमा सँगीतकार हरि लम्सालको सँगीतमा ‘यो जुनी यस्तै भो’ म्युजिक भिडियोसहितको आधुनिक गीत बजारमा ल्याउनुभएका गायक तथा सँगीतकार भावुकले दुई वर्षअघि ‘अप्सना म्युजिक अवार्ड–२०२४’समेत हात पार्नुभएको थियो । जुनसुकै विद्याका गीत गाउन सक्ने क्षमता भएका गायक तथा सँगीतकार भावुकले ‘छातीभित्र दुख्ने घाउ’ बोलको गीतमा दिनुभएको एकल स्वरले अवार्ड जितेको हो ।

विदेशमा रहँदादेखि नै साँगीतिक क्षेत्रमा सक्रिय गायक तथा सँगीतकार भावुकले आफ्नै लगानीमा ‘भावुक एल्वम्’समेत बजारमा ल्याउनुभएको छ । ‘हाम्रो मायाँ दुई पन्छी’, ‘तिम्रो मायाँ मेरो लागि’, ‘यो तिहारमा’, ‘मेरी आमा’, ‘बिहानीको शिरशिरेमा’, ‘घुम्दैफिर्दै’, ‘दार्जिलिङ घुम्न आएको’, ‘छाडेपनी यो हावा’ र ‘पर्देशीको जीवन’ बोलको गीत समेटेर नेपाल फर्किएलगत्तै वि.सं. २०७४ सालमा भावुक एल्वम् बजारमा ल्याउनुभएको हो ।

वि.सं. २०४९ जेठ–२७ गते सोल्मामा जन्मुभएका गायक तथा सँगीतकार भावुक लक्ष्मण विश्वकर्मा र इन्द्रलक्ष्मी विश्वकर्माको साहिला छोरा हुनुहुन्छ । सोल्मामा घरखेती गरेर कक्षा–११ सम्म अध्ययन पूरा गराउनुभएका बुबाआमाले भावुकको गायक बन्ने सपना पूरा गर्न नसक्ने भएपछि वि.सं. २०६८ सालमा विदेश जानुभएको हो ।

गायक बन्नकै लागि पैसा कमाउन चार वर्षसम्म दुबाई बसेर स्वदेश फर्कनुभएका गायक तथा सँगीतकार भावुकले राजधानी काठमाडौँमा रहेर विभिन्न विद्याका दर्जनौँ नेपाली गीतमा सँगीतसमेत भरिसक्नुभएको छ । गीत÷सँगीतसम्बन्धी अहिलेसम्म औपचारिक शिक्षा नलिनुभएका गायक तथा सँगीतकार भावुक पछिल्लो समय नेपाली गीत तथा सँगीतकै काममा व्यस्त हुनुहुन्छ ।

सोल्माका सामान्य दलित परिवारमा जन्मनुभएका गायक एवम् सँगीतकार भावुकका दुई दाजु जेठा बिक्रम र माहिला पदम विश्वकर्मा दुबाई तथा भाइ सविन विश्वकर्मा जापानमा हुनुहुन्छ । पढाइ छाडेर निक्कै कडा मेहनतले गायक तथा सँगीतकार बन्नुभएका भावुकले पछिल्लो समय साँगीतिक क्षेत्रबाटै परिवार धानीरहनुभएको छ ।

जीवन भोगाइ र देश प्रेमले ओप्रोत गीत गाउन तथा सँगीत भर्न रुचाउने गायक भावकले मायाँ पिरतीका गीतसमेत गाउनुभएको छ । चलचित्र प्रसाद–२ को ‘ए मायाँँ’ बोलको बिछोडको पीडा सम्बन्धी गीत गाउन पाउँदा आफूलाई साँगीतिक दुनियाँमा प्रमाणित गर्ने अवसर मिलेको गायक भावुक बताउनुहुन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी जयन्ता जगमेरसँग १४ वर्षअघि विवाह बन्धनमा बाँधिएर तीन छोराका बुबासमेत बनिसक्नुभएका गायक तथा सँगीतकार भावुक नेपाली समाज राम्रोलाई भन्दा गलत र अस्लिलतामा रमाउन थालेको प्रति आफूलाई दुःख लागेको बताउनुहुन्छ । “मैले मेरो अन्तिम सास रहुञ्जेल नेपाली गीत तथा सँगीतमा योगदान गर्ने अठोट लिएको छु । तर, नेपाली समाज राम्रोलाई भन्दा गलत र अस्लिलतामा रमाउन थालेको देख्दा दुःख लाग्छ”, उहाँले भन्नुभयो, “साँगीतिक यात्राका क्रममा मैले स्थापित र नयाँ कलाकारहरु दुवैसँग सङ्गत गर्ने अवसर पाएँ । हुलको पछाडि लागिन । जति सक्छु देशका लागि गर्छु । चर्चामा आएर पैसाका लागि इमान बेच्दिन ।”

विद्यार्थी जीवनदेखि गीत÷सँगीतमा रुची तथा कक्षा–११ पढ्दै गर्दा रेडियो कार्यक्रमसमेत सञ्चालन गर्नुभएका गायक तथा सँगीतकार भावुकले तोरेम्पाहाङको सँगीत तथा चर्चित कलाकार विल्सनबिक्रम राई ‘तक्मे बुढा’को शब्दमा ‘घुम्दै आको सोल्टिनी’ बोलको नयाँ गीत म्युजिक भिडियोसहित बजारमा ल्याउने तयारी गरिहेको जानकारी दिनुभएको छ । गायिका मन्माबी राईसँगको युगल स्वरमा तयार भएको पूर्वेली लोकदोहोरी गीतको म्यजिक भिडियोमा विल्सनबिक्रम राई ‘तक्मे बुढा’, एलिस राई, अनुशा राई, जानुका गुरुङ लगायतको कलाकारको भूमिका रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया