खोटाङ, ८ वैशाख । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाले विजयी यात्रा सुरु गरेको छ । सोल्मास्थित क्लबको आफै खेलमैदानमा आयोजना गरिएको ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ पुरुष फुटबल प्रतियोगितामा सोल्माले सोही नगरपालिकाको वडा नं. ६ नेर्पालाई तथा बाँझेच्यानडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पालाई हराएको हो ।
सोल्मा र नेर्पाबीच भएको पहिलो खेलको निर्धारित समयभित्र दुवैतर्फको गोल नभएपछि ट्राईब्रेकरमार्फत प्रतियोगिताको छिनोफानो गर्दा सोल्माले नेर्पालाई ४–३ को गोलअन्तरले पराजित गरेको आयोजकले जनाएको छ । यस्तै, दोस्रो खेलमा दोर्पालाई २–१ गोलअन्तरले पराजित गर्दै बाँझेच्यानडाँडाले आफ्नो विजयी यात्रा सुरु गरेको हो ।
पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगितामा प्रथम हुने वडाले नगद पुरस्कार रु एक लाख ११ हजार १११ तथा द्धितीय हुने वडाले नगद रु ६६ हजार ६६६ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजक सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रतियोगिताका सेमिफाइनलिष्ट दुईवटा वडाले रु २५ हजार ५५५ का दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगितामा बेष्ट प्लेयर एकजनालाई रु पाँच हजार ५५५ तथा बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाई स्कोरर, बेष्ट कोच र राईजिङ प्लेयरलाई रु दुई हजार २२२ का दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता समापनको अवसरमा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान गरिने आयोजकले जनाएको छ ।
यही वैशाख–१२ गतेसम्म सञ्चालन हुने छैटौँ संस्करणको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा जिल्लाका १४ वडाले सहभागिता जनाएको आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार वैशाख–९ गते भोलि छनोट चरणको चार खेल सञ्चालन हुने जनाइएको छ ।
वैशाख–९ गते हुने पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी, तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा र हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा तथा चौथो खेल साकेला गाउँपालिका–२ रतन्छा र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेबीच हुने भएको छ । खार्मी र डिकुवाबीचको पहिलो खेल बिहान साढे दश बजे सुरु हुने सोल्मा स्र्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभएको छ ।
खेलकुद क्षेत्रको विकास गर्दै आफ्नै ठाउँमा व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले छैटौँ संस्करणको प्रतियोगितामा जिल्लाभित्रका वडाहरुलाई मात्र सहभागी गराएको छ । सबै खेलाडी एउटै वडाको हुनुपर्ने निमय बनाएर आयोजना गरेको वडास्तरीय पुरुष फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरुपमा क्लबको लोगोसहितको बेलुन उडाएर उद्घाटन गर्नुभएको छ ।
प्रतियोगितामा सहभागी खेलाडीले वडा कार्यालयबाट सिफारिस साथमा नाम, थर र ठेगाना खुल्ने सक्कल कागजसहित दुई÷दुई प्रति पासफोटो अनिवार्य उपलब्ध गराउनुपर्ने नियम बनाएको छ । प्रतियोगितामा किर्ते खेलाडी सहभागी गराउने वडालाई रु २० हजार जरिवाना र तीन वर्षसम्म प्रतियोगितामा सहभागी हुन नपाउने जनाइएको छ ।
खेलमा सहभागी भएपस्चात बहिस्कार गर्न नपाइने र कसैले बहिस्कार गरेको खण्डमा आयोजकलाई रु २० जरिवाना बुझाउनुपर्ने जनाइएको छ । खेलमा दाबीबिरोध गर्नु परेमा खेल सकिएको एक घन्टाभित्र रु २५ हजार नगदसहित उजुरी गर्नुपर्ने छ भने उजुरी परेको वडाले दुई घण्टाभित्र विवरण पेस गरिसक्नुपर्ने जनाइएको छ ।
वि.सं. २०७० सालमा स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबको अन्तर्राष्ट्रिय मापदण्डको आफ्नै खेलमैदान रहेको छ ।


