दिक्तेलमा जेठ–३ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुँदै

Halesi Khabar

खोटाङ, २८ चैत । आगामी जेठ पहिलो साता दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा जेठ–३ गतेदेखि ९ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गर्न लागेका हौँ । यसअघि सञ्चालन गरिएका महोत्सवमा देशविदेशका खेलाडीहरु सहभागी भएका थिए”, उहाँले भन्नुभयो, “महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ । यसलाई सफल पार्न बिगत वर्षहरुमा जस्तै यो पटक पनि सबैको सहयोग अपरिहार्य छ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा एथलेटिक्ससहित खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महोत्सवमा दश वर्षमूनिका छात्रछात्राका लागि एक माईल, १२ वर्षदेखि १५ वर्षमूनिका छात्रछात्राका लागि सात किलोमिटर, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि सात किलोमिटर दौड प्रतियोगिता हुने जनाइएको छ । यस्तै, आमाहरुका लागि पाँच किलोमिटर, ५५ वर्षभन्दा माथिका पुरुषको लागि दुई किलोमिटर तथा १५ वर्षभन्दा माथिका महिला÷पुरुषका लागि दश किलोमिटर खुला दौड प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

दश वर्षमूनिका छात्रछात्राका लागि एक माईल दौडमा प्रथम, द्धितीय र तृतीय हुनेले नगद रु तीन हजार, रु दुई हजार र रु एक हजार, १२ वर्षदेखि १५ वर्षमूनिका छात्रछात्राका लागि सात किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद रु सात हजार ५००, रु छ हजार ५०० र रु पाँच हजार ५००, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद रु १५ हजार, रु दश हजार र रु सात हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । यस्तै, आमाहरुका लागि पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद रु पाँच हजार ५५५, रु चार हजार ४४४ र तीन हजार ३३३, ५५ वर्षभन्दा माथिका पुरुषको लागि दुई किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद रु पाँच हजार ५००, रु चार हजार ५०० र रु दुई हजार ५०० तथा १५ वर्षमाथिका महिला÷पुरुष दश किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले नगद रु १५ हजार, रु दश हजार, रु सात हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

खुला बुद्धिचाल प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेले क्रमशः नगद रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु आठ हजार, रु सात हजार र रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । बुद्धिचाल र साहित्यिक प्रतियोगिता दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा तथा एथलेटिक्स माटीकोरे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

साहित्यतर्फ ख्यातिप्राप्त साहित्यकारहरुबीच आ–आफ्नो सिर्जना सुनाउने र सुन्न कार्यक्रम राखिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष राईले जानकारी दिनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिने साहित्यिक महोत्सवमा कविता, जगल र मुक्तक सुनाउने र सुन्न कार्यक्रम राखिएको हो ।

महोत्सव सम्पन्न गर्नका लागि रु ३० लाख १३ हजार २३२ बजेट लाग्ने अनुमान गरिएको नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर प्रचारप्रसार, आर्थिक सङ्कलन तथा व्यवस्थापनको काम सुरु गरिएको आयोजकले जनाएको छ ।

महोत्सव समापनको अवसरमा विभिन्न विद्यामा महत्वपूर्ण योगदान गर्ने पाँचजना व्यक्तिलाई नगदसहित सम्मान गरिने जनाइएको छ । जिल्लाका दशवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको महोत्सवमा देशभरका धावक, साहित्यकार तथा खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया