बालकोटको भेट र स्मृतिमा ओली

Halesi Khabar

तीर्थराज भट्टराई
२०८२ फागुन–२९ गते बिहान दश बजे पूर्वप्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीका पिताजी मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा भक्तपुरमा स्वर्गारोहण भएको समाचार आयो । उमेरको हिसाबले हेर्दा स्वभाविक मृत्यु मान्नुपर्छ तर, सन्तानलाई परिवारको अविभावक गुमाउँदाको पीडा असह्य र पीडादायी हुन्छ । २००८ साल फागुन–१० गते मधुमायाको कोखबाट केपी शर्मा फुयलको जन्मभएको चार वर्षपछि पिता मोहनले पत्नी मधुमायालाई गुमाउनु प¥यो। काखमा सानो छोरो भएकोले चिन्तित थिए तर, आमाको मृत्यु भएपछि हजुरआमा राममाया ओलीको लालनपालनमा केपी शर्मा हुर्कनुभयो । बुबा मोहनप्रसादले अर्को विवाह गर्नुभएपछि एक भाइ र तीन बहिनी भए । त्यहि जमानामा तेह्रथुमको इवागाउँ छोडेर ओली परिवार झापा झरेको थियो । लामो समयदेखि जेठा छोरा केपीसँग भक्तपुरमा बस्दै आउनुभएका मोहनप्रसाद अब सधैँका लागि यस धर्तिबाट अस्ताउनुभएको छ ।

मेरो पहिलो भेटको अनुभूति

जीवनको यात्रामा कहिलेकहिं केही भेटहरू यस्ता हुन्छन् । जसले समयको सीमालाई पार गरेर स्मृतिमा स्थायी स्थान बनाइदिन्छन् । ती भेटहरू धेरै लामो पनि हुँदैनन् तर, तिनले मनभित्र एउटा न्यानो अनुभूति, सम्मान र आत्मीयताको उज्यालो छाप छोडेर जान्छन् । स्वर्गीय मोहनप्रसाद ओलीसँग भएको मेरो पहिलो भेट पनि यस्तै अविस्मरणीय स्मृतिका रूपमा मनभित्र सुरक्षित छ । वि.सं. २०८१ माघ–१३ गते म पहिलोपटक बालकोटस्थित ओली निवास पुगेको थिएँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका तथा धनु आर्ट स्टुडियोद्वारा काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना हुने ‘मुण्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी ’ कार्यक्रममा उपस्थितिका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिन हामी त्यहाँ पुगेका थियौँ । म राजनीतिक आस्थाको हिसावले नेपाली काँग्रेसमा आवद्ध भएकोले अरू समय बिना काम बालकोट जाने कुरा पनि भएन । त्यो दिन मसँग १२ नं. का वडाअध्यक्ष दानबहादुर राई, प्राज्ञ धनबहादुर याक्खा, नगरका अधिकृत ओजोनबाबु आचार्य र निश्चल श्रेष्ठ पनि साथमा हुनुहुन्थ्यो ।

माघको चिसो मौसम भएकोले बिहानको घाम विस्तारै न्यानो हुँदै आँगनभरि फैलिरहेको थियो । घरअगाडि राखिएका गमलाहरूमा ढकमक्क फुलेका रङ्गी बिरङ्गी फूलहरूले वातावरणलाई अझ रमाइलो बनाइरहेका थिए । ती फूलहरूले मानौँ एउटा सानो तर, मनमोहक बगैँचा जस्तै दृश्य सिर्जना गरेका थिए । सुरक्षा र भेटघाटमा आउनेको बाक्लो उपस्थिति देखिन्थ्यो ।त्यही आँगनको एक छेउमा एउटा कुर्सीमा बसिरहनुभएका केपी शर्मा ओलीका पिताजी श्रद्धेय मोहनप्रसाद घाम तापिरहनुभएको थियो । ९५ वर्षको बुढेसकालको उमेरमा पनि प्रष्ट कान सुन्ने र आँखा पनि देख्नुहुँदो रहेछ । उहाँको हातमा एउटा लट्ठी थियो । अनुहारमा उकालीओराली गर्दै वर्षौंदेखि सङ्गालिएका अनुभवले कोरिएका रेखाहरू थिए । त्यही अनुहारमा एउटा अद्भुत शान्ति र हँसिलोपन झल्किरहेको थियो ।

हामी सबै जना उहाँ बस्नु भएको कुर्सी नजिक पुग्यौँ । मैले आदरपूर्वक उहाँको हातमा ढोगेँ । मलाई स्नेहपूर्ण मुस्कान छोड्दै आशिर्वाद दिनुभयो । परिचय माग्नुभयो हामी सबैले आ–आफ्नो परिचय दियौं । त्यो उमेरमा पनि ज्ञान विज्ञानका कुरा गर्ने फुर्तिलो अग्रज । सामान्य भलाकुसारी गरेर हामीले उहाँसँग फोटो खिच्यौँ । आज त्यो फोटो एउटा सामान्य तस्वीर मात्र होइन जीवनको अमूल्य स्मृति बनेर बसेको छ । त्यो दिन हामीले श्रद्धेय केपी शर्मा ओलीलाई पनि भेट्यौं । आफ्ना कुरा राखेर निम्तो ग¥र्यौं । सहर्ष स्वीकार्दै आइदिनु पनि भयो । यसको सहजिकरण संविधानसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईले पनि गरिदिनुभएको थियो ।

संघर्षबाट बनेको जीवन
स्वर्गीय मोहनप्रसाद ओली साधारण किसान परिवारमा जन्मिएर जीवनका अनेक कठिनाइ पार गर्दै अघि बढ्नुभएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ पूर्वी नेपालको तेह्रथुम जिल्ला इवा गाउँको बासिन्दा हुनुहुन्थ्यो । जीवनका ती कठिन परिस्थितिहरूबीच पनि आफ्ना सन्तानलाई संस्कार, धैर्यता र आत्मबलको पाठ सिकाउनुभयो । गाउँको साधारण किसान भएर पनि जीवनको महत्व बुझेर सङ्घर्षसँग नडराउने साहस भएको व्यक्ति हुनुहुन्थ्यो । त्यही संस्कारको जगमा हुर्किएका खड्गप्रसाद शर्मा ओली आज नेपालको राजनीतिमा एक प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । केपीले सुख–दुःख, जेल–नेल,सङ्घर्ष र साहसको शिक्षा नै पिताजीबाट पाउनुभएको थियो ।

बालकोटको आँगनमा देखिएको संस्कार
मैले पहिलो पटकको भेटपछि पनि पुनः दुई पटक बालकोट जानु पर्ने वातावरण बन्यो । हरेक पटक उहाँलाई त्यही आँगनमा बसेर आगन्तुकहरूसँग कुरा गरिरहेको देख्थेँ । त्यो उमेरमा पनि उहाँको सक्रियता र उत्साह लोभलाग्दो लाग्थ्यो । उहाँको व्यवहारमा कुनै कन्जुस्याइ र विभेद थिएन । जोसुकै आगन्तुक आए पनि समान आत्मीयताका साथ स्वागत गर्दै आशिर्वचन दिनुहुन्थ्यो । आशिर्वाद दिँदा कुनै भेदभाव थिएन । उहाँ मानौँ एउटा जीवित पुस्तकालय जस्तै लाग्ने । जहाँ सङ्घर्ष, धैर्यता, अनुभव, संस्कार र जीवनका जिवन्त कथा सुरक्षित थिए । त्यो समय बालकोट पुगेर मैले धैरै कुरा बुझ्ने र सिक्ने अवसर पाएको थिएं ।

केपी र राधिकाको पिताप्रतिको सम्मान
बालकोटमा बसेर आगन्तुकहरूसँग कुरा गरिरहनुभएका मोहनप्रसाद ओलीज्यूलाई देख्दा परिवारभित्रको सम्मानको वातावरण पनि सहजै महशुस हुन्थ्यो । विशेषगरी उहाँका छोराबुहारी केपी शर्मा ओली र राधिका शाक्यले पिताप्रति देखाउने आदर र सम्मान निकै उदाहरणीय लाग्थ्यो । व्राह्मण परिवारका भएपनि अन्तरजातीय बुहारी राधिकाप्रति कहिल्यै दुर्वाच्य गर्नुहुँदो रहेनछ भन्ने उहाँसँगको भेटमा मैले अनुभूति गरेको थिएं ।राजनीतिक जीवनको व्यस्तताबीच पनि छोराबुहारीले आफ्ना पितालाई सधैं सम्मानका साथ राख्नुभएको थियो । परिवारका सदस्यहरूले देखाउने स्नेह र आदरले मोहनप्रसाद ओलीज्यूको जीवनलाई अझ न्यानो बनाएको देखिन्थ्यो । सबैले उहाँलाई परिवारका ज्येष्ठ सदस्यका रूपमा गहिरो सम्मान गर्नुहुन्थ्यो । बुहारीको रूपमा राधिकाले देखाएको व्यवहारमा सधैं स्नेह र आदर झल्किएको अनुभव धेरैले गरेका छन् । परिवारभित्रको त्यो संस्कारले मोहनप्रसादलाई एउटा सम्मानित अभिभावकका रूपमा स्थापित गरेको थियो ।

मेरो आफ्नै पिताजीको ताजा सम्झना
उहाँको व्यवहार हेर्दा मलाई आफ्नै पिताजी स्वर्गीय लक्ष्मीप्रसाद भट्टराईको सम्झना आयो । बाबुहरू प्रायः एउटै किसिमका हुन्छन् । उहाँहरू आफ्ना दुःख र पीडाहरू आफैंभित्र राख्नुहुन्छ तर, सन्तानका लागि सधैं छानो बनेर उभिदिने । आफू असहजतामा रमाएर सन्तानलाई सुख– समृद्धि दिन प्रयत्न गर्ने । मेरो पिताजीले मलाई दिनुभएको स्नेह र प्रेम उहाँलाई देख्दा झल्झल्ति सम्झिएं । उहाँले मेरो पारिवारिक राजनीतिक र आर्थिक अवस्थाको विस्तृत विवरण सोद्धा मेरो गला अवरूद्धभयो, आँखा रसाए । सामान्य पारिवारिक पृष्ठभूमिको मानिस राजनीतिमा सफल  हुन गाह्रो हुन्छ । तपाई आफैं बुझ्ने मानिस ख्याल गरेर अघि बढ्नुभन्दै ढाढस दिनुभएको त्यो क्षण मेरो जीवनको ठूलो सम्पत्ति हो ।
मैले तपाईंको मनोवल गिराउन खोजेको होइन समय यस्तै आयो भनेर पछिल्लो समय राजनीतिमा देखिएको विकृति, बिसङ्गति र पार्टी कार्यकर्तामा चारित्रिक बदलाव आएकोप्रति सङ्केत गराउनु भयो । मैले मेरो पिताजी लक्ष्मीप्रसाद भट्टराईले दिनुहुने सुझाव र मार्गदर्शनलाई स्मरण गरें । २०८२ फागुन–२९ गते मोहनप्रसाद ओलीको निधनको खबर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति आयो । त्यो खबर सुन्दा मन अत्यन्तै दुःखी भयो । जीवनमा तीन पटक मात्र भेट भएको व्यक्तिको वियोगले पनि यति गहिरो पीडा दिन सक्छ भन्ने अनुभूति भयो । अझ पीडादायी कुरा के भने त्यस समयमा म दिक्तेलमा थिएँ । मनले चाहेर पनि उहाँको अन्तिम यात्रामा मलामीका रूपमा सहभागी हुन सकिनँ। त्यो अधुरो भाव मनभित्र सधैं रहि रहनेछ ।

अन्तिम श्रद्धाञ्जली
आज पनि जब म ती क्षणहरू सम्झन्छु, बालकोटको त्यो माघ महिनाको घाम लागेको आँगन मेरो आँखाअगाडि आइपुग्छ । फूलहरूले सजिएको बगैँचा, मानिसहरूको घुइँचो र त्यही बीचमा हातमा लट्ठी समाएर घाम तापिरहनु भएको मोहन प्रसादको हँसिलो अनुहार ती सबै दृश्यहरू मेरो स्मृतिमा अझै ताजा छन् ।स्वर्गीय उहाँ अब शारीरिक रूपमा हामीमाझ हुनुहुन्न तर, छोडेर जानुभएको सरलता, संस्कार र आत्मीयताको आशिर्वचन रूपि कोशेली भने सधैं जीवित रहि रहनेछ । यस दुःखद् घडीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीज्यू लगायत सम्पूर्ण शोकाकुल परिवारजनप्रति म गहिरो समवेदना व्यक्त गर्दछु । स्वर्गीय मोहनप्रसाद ओलीज्यूको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

लेखक : तीर्थराज भट्टराई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख एवम् नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङका उपसभापति हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया