खोटाङ, ११ फागुन । दिक्तेलस्थित इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका २४ वर्षिय टेकबहादुर खत्रीले १३ वर्षीया छात्रामाथि गरेको जबरजस्ती करणी घटनाप्रति जिल्लाका चार विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी रेखा कँडेल समक्ष ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संयुक्तरूपमा ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापन पत्रमा घटनालाई जघन्य अपराधको संज्ञा दिँदै दोषीमाथि शीघ्र कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ । साथै, पीडित छात्रालाई आवश्यक क्षतिपूर्ति, निरन्तर शिक्षाको सुनिश्चितता, स्वास्थ्य उपचार तथा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने उल्लेख गरिएको छ ।
नेविसंघका अध्यक्ष मोतिचन्द्र राई, अनेरास्ववियुका जिल्ला संयोजक शुसिला तिमलसिना, अखिल क्रान्तिकारीका अध्यक्ष डार्विन चाम्लिङ र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष आश्रय राईको हस्ताक्षरीत संयुक्त ज्ञापन पत्रमा नेपालको संविधान र प्रचलित कानुनअनुसार प्रत्येक नागरिकको शारीरिक तथा मानसिक सुरक्षाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै विद्यार्थी संगठनहरूले घटनाले विद्यार्थी, अभिभावक, शिक्षक तथा समग्र समाजमा गहिरो मानसिक आघात पु¥याएको ठहर गरेको उल्लेख छ ।
मुलुकी अपराध संहिता २०७४ अनुसार जबरजस्ती करणी गम्भीर कसुर भएको उल्लेख गर्दै दोषीलाई कानुन अनुसार कडा भन्दा कडा सजाय हुनुपर्नेमा संगठनहरूले जोड दिएका छन् । शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । करणीपछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पिडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको बारे जानकारी पाएका थिए ।


