खोटाङ, ३० पुस । साकेला गाउँपालिकामा सौन्दर्यकरण, पहिचान र दिगो विकासका बहुआयामिक कार्यहरू तीव्र गतिमा अघि बढाइएको छ् । प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र आधुनिक संरचनाको संयोजनमार्फत जिल्लाका अन्य स्थानीय तहभन्दा फरक पहिचानसहित अग्रगामी यात्रामा देखिएको छ ।
गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काईवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जो–कोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ । स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त प्रस्तुत गरेका छन् ।
यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचनाहरू निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ । विकास केवल कागजमा सीमित नबनाइ प्रत्यक्ष कार्यान्वयनमा उतार्ने शैलीले साकेला गाउँपालिकालाई अन्य स्थानीय तहभन्दा फरक र अनुकरणीय बनाएको छ ।
यी सबै विकासका गतिविधिहरूको अगुवाइ स्वयम् गाउँपालिका प्रमुख रविप्रकाश राईले गरिरहनुभएको छ । गाउँपालिका प्रमुख राई नियमित रूपमा केही कर्मचारीहरूको साथमा श्रमदानमा सहभागी हुँदै गाउँपालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन निरन्तर सक्रिय रहनुभएको छ ।
नेतृत्व आफैँ मैदानमा उत्रिएपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दामा समेत सकारात्मक ऊर्जा र सहभागिता बढेको देखिन्छ । साकेला गाउँपालिकाले लिएको ‘श्रम साकेला अभियान’ नीतिअनुसार जनश्रमदानलाई विकासको मुख्य आधार बनाइएको छ ।
यही अभियानका कारण गाउँपालिकाभित्रका बाटाघाटा सफा, व्यवस्थित र सुन्दर देखिन थालेका छन् । सरसफाइको क्षेत्रमा समेत साकेला गाउँपालिका जिल्लाकै अग्रपङ्तिमा उभिन सफल भएको छ ।
यसका साथै गाउँपालिकाभित्र रहेका विभिन्न सार्वजनिक सम्पदाहरूको संरक्षण, धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरूको नियमित सरसफाइ, तथा सडक पूर्वाधार विकासमा अध्यक्ष राईको सक्रिय भूमिका निरन्तर देखिँदै आएको छ । विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोडिनु साकेला गाउँपालिकाको विशेषता बन्दै गएको छ ।
स्थानीयवासीका अनुसार नेतृत्वको स्पष्ट दृष्टिकोण, निरन्तर श्रमदान र योजनाबद्ध विकासका कारण साकेला गाउँपालिका अहिले सुन्दर, सफा र पर्यटकीय सम्भावनायुक्त गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । गाउँपालिका राईको सक्रिय नेतृत्वले साकेलालाई समृद्ध, आकर्षक र नमूना गाउँपालिकाका रूपमा रूपान्तरण गर्ने अपेक्षा अझ बलियो बनेको स्थानीयले बताएका छन् ।
आफ्नो कार्यकालभित्र जनताका दैनिकीसँग जोडिने विकास÷निर्माणका गतिविधिसँगै पर्यटन प्रवद्र्धनको कामलाई पूर्णता दिने योजनामा रहेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ । “हामी निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति गरिरहेका छौँ । हाम्रो पालिका आफैमा पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “यहाँ रहेका पर्यटकीय गन्तव्यहरुको स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनको काम गरिरहेका छौँ । यसले स्थानीयका लागि रोजगारी सिर्जना गर्नुका साथै गाउँपालिकाको आन्तरिक स्रोतमा समेत सघाउ पुग्नेछ ।”
जिल्लाको सबैभन्दा सानो (पाँचवटा मात्र वडा रहेको) यो गाउँपालिकाको वडा नं. २ रतन्छामा साकेला पार्क (उद्यान) र वडा नं. ३ खिदिमामा शहीद पार्क निर्माण गरिसकिएको छ भने, तावाताल निर्माणको काम अगाडि बढाइएको छ । गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटकीय क्षेत्रहरुको स्तरोन्नति तथा प्रवद्र्धनको कामलाई तीव्रता दिइएको उपप्रमुख बिर्सिकाले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले आफ्नै गाउँठाउँमा पाइने पात्ले, ढाल्ने र सालको काठबाट होर्डिङ बोर्ड बनाएको छ भने, टोलटोलसम्म पुग्ने बाटो र ठाउँको नाम अङ्कित दिशा निर्देशक चिन्ह (डाईरेक्सन एरो)समेत देखाएको छ । गाउँपालिकाले सीमा क्षेत्रका आठवटा स्थानमा स्वागत र बिदाई बोर्ड राखेको छ भने, पालिकाभित्रका हरेक टोल तथा बस्तीसम्म छिर्ने दोबाटोहरुमा डाईरेक्सन बोर्ड राखेको छ ।
डाईरेक्सन बोर्डको सहायताले पहिलो पटक साकेला गाउँपालिका पुग्ने जो कोहीले सजिलैसँग एक्लै गाउँपालिकाको सबै वडा घुम्न सक्नेछन् । गाउँपालिकाद्वारा राखिएका होर्डिङ बोर्ड र चिन्हहरुलाई कलात्मक रुपमा प्रस्तुत गरेको देख्दा लाग्छ हामी सँस्कार र सभ्यताले सुसज्जित पालिका प्रवेश गर्दैछौँ…।


