खोटाङमा भेटियो अति सङ्कटापन्न सूचीमा रहेको कालो सालक

Halesi Khabar

खोटाङ, २० पुस । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अति सङ्कटापन्न सूचीमा रहेको कालो सालकको बसोबास खोटाङमा रहेको पुष्टि भएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामेरा ट्र्याप गर्दा कालो सालकको बसोबास रहेको प्रमाणित गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामेरा ट्र्याप प्रविधिमार्फत सर्वेक्षण गर्दा कालो सालकको बसोबास रहेको पुष्टि भएको जनाइएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ ।

एक प्रजातिका अति सङ्कटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका सङ्कट नजिकका र दश प्रजातिका कम चासोका स्तनधारी जनावरको भिडियो तथा तस्वीर कैद गरिएको छ । त्यसमध्ये कालो सालक फेला पर्नुलाई यस क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)का कार्यकारी निर्देशक जीवन राईले बताउनुभएको छ ।

अध्ययनका क्रममा अति सङ्कटापन्न अवस्थाका कालो सालकसहित संवेदनशील अवस्थाका चितुवा, थार र ध्वाँसे चितुवा, सङ्कट नजिक पुगेको आसामी बाँदर र घोरल तथा कम चासोका रतुवा मृग, गँगटे न्याउरीमुसा, ढेंडु (लंगुर), सानो सुँगुरे भालु, ठूलो निरबिरालो, चरी बाघ, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रोको बासोबास रहेको प्रमाणित भएको जनाइएको छ । स्थानीय वन्यजन्तुको अवस्था पहिचान र अभिलेख राख्दै यस क्षेत्रको जैविक विविधताको महत्वलाई उजागर गर्नका लागि क्यामेरा ट्र्यापिङ गरिएको कार्यकारी निर्देशक राईले जानकारी दिनुभएको छ ।

सामुदायिक वनमा आबद्ध समुदायलाई आफ्नो क्षेत्रमा रहेका जैविक विविधता, वन्यजन्तुको अनुगमन र संरक्षणका लागि आफैले क्यामेरा ट्रयापिङ गर्ने क्षमता अभिवृद्धि गराउन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, ११ खार्मी र रावाबेँसी गाउँपालिका–६ हौचुरका विभिन्न सामुदायिक वनहरूमा १३ वटा क्यामेरा ट्र्यापिङ गरिएको थियो ।
एनसीएससीले सालक संरक्षण तथा क्यामेरा ट्र्याप नतिजा पुस–१९ गते जालपामा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । सातवटा सामुदायिक वन समूहको सहकार्यमा आयोजना गरिएको कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले जिल्लामा चोरीशिकारीको बिगबिगी बढेकाले लोपोन्मुख जीवजन्तुको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जिल्लामा हुने चोरीशिकारी नियन्त्रण गर्नका लागि सम्बन्धित निकायले कडाइका साथ कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनबाट रेडपाण्डा, सालक, बाघ, भालु लगायतका वन्यजन्तुको चोरीशिकार हुँदै आएको समाचार स्रोतले जानकारी दिएको छ । जिल्लाका कतिपय स्थानीय तहका सामुदायिक वनमा प्रहरी प्रशासनकै मिलेमतोमा चोरीशिकार हुने गरेको समाचार स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया