खोटाङ, ४ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव–२०८२’ सुरु भएको छ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोटाङबजारमा दुई दिने साहित्यिक महोत्सव आयोजना गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता वाचन गरेर गर्नुभएको छ । खोटेहाङ गाउँपालिकाको सभाहलमा आयोजित महोत्सवमा माध्यमिक तहका विद्यार्थीका लागि कविता प्रतियोगिता, बाल साहित्य तथा बाल मनोविज्ञानका बारेमा विचार विमर्श, ‘मुन्दुम र जोसमनी दर्शन, कति नजिक कति टाढा’ विषयक विचार गोष्ठी, ‘अर्थ राजनीतिक दृष्टिकोणबाट बसाइँसराइँको कारण न्यूनीकरणको उपाय’ विषयक विचार गोष्ठी तथा बृहत् कविता गोष्ठीको आयोजना गरिएको छ ।
महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, अर्थ राजनीतिक विश्लेषक हरि रोका, नेपाल प्रज्ञा प्रतिष्ठानका समालोचना तथा साहित्य इतिहास विभाग प्रमुख डा. मधुसूदन गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी, मुन्दुम अध्यता भोगिराज चाम्लिङ, कवि एवम् लेखक कविता राई लगायतको सहभागिता रहेको छ । महोत्सवको पहिलो दिन गाउँपालिकाभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि कविता प्रतियोगिता आयोजना गरिएको खोटेहाङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र नारथुङ्गेले जानकारी दिनुभएको छ ।
नेपालमा बाल साहित्यको अवस्थाका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ डा. मधुसूदन गिरीको मन्तव्य राखिएको छ । यस्तै, बसाइँसराइँका कारण र न्यूनीकरणको उपाय शीर्षकमा अर्थ राजनीतिक विश्लेषक हरि रोकाले प्रस्तुत गर्नुहुने कार्यपत्रमा सामाजिक अध्येता टङ्क थापा र शैक्षिक अभियान्ता सूर्यबहादुर राईले टिप्पनी गर्नुहुने जनाइएको छ ।
महोत्सवमा मुन्दुम अध्येता भोगिराज चाम्लिङले प्रस्तुत गर्नुहुने ‘मुन्दुमको विश्व दृष्टिकोण’ शीर्षकको कार्यपत्रमा कवि एवम् शैक्षिक अभियान्ता नरेन्द्र निर्विकारले टिप्पणी गर्नुहुनेछ । नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीको जोसमनी दर्शन सम्बन्धी विचार प्रस्तुत गर्नुहुने जनाइएको छ ।
महोत्सवमा किरात मुन्दुम र जोसमनी दर्शनको निकटताका बारेमा समेत विमर्श गरिने आयोजकले जनाएको छ । खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित महोत्सवमा कवि नरेन्द्र निर्विकार, केशव कार्की, कविता राई, आस्था कोपिला, भोगेन एक्ले, जीवन आरोही, भीम राई, भूमिराज मरुभूमि, ज्ञानदीप चाम्लिङ राई, नीरस एसके पीडित, निराजन भण्डारी, भगवती शर्मा, कृष्णश्री राई, रोशन पौडेल, भुवन गाउँले लगायतले आ–आफ्नो कविता वाचन गर्नुहुने आयोजकले जनाएको छ ।
महोत्सवमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जरा, जिल्लास्थित साहित्यकारहरु लगायतको उपस्थिति रहेको छ । जिल्लाको पूरानो सदरमुकाम खोटाङबजारमा आयोजना गरिएको महोत्सवमा साहित्यिक क्षेत्रका मूर्धन्यहरुको सिर्जना वाचनले गुञ्जयमान भएको छ ।


