–मिनाक्क्षी राई
खोटाङ, २९ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा स्थापित चक्र–अञ्जु राई फाउन्डेसनले आयोजना गरेको जिल्लास्तरीय एकल नृत्य प्रतियोगिताको उपाधि पञ्च माध्यमिक विद्यालय दिक्तेलका छात्र प्रतीक आचार्यले जित्नुभएको छ । जिल्लाका १७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता आचार्यले नगद रु दश हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
सावित्रा माध्यमिक विद्यालय बाम्राङको प्राङ्गणमा सोमबार आयोजित प्रतियोगितामा दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलका छात्र सुसन राई दोस्रो तथा माउन्ट एभरेष्ट बोर्डिङ स्कूलकी छात्रा सुजता राई तेस्रो हुनुभएको छ । फाउन्डेसनको चौथो साधारणसभाको अवसरमा आयोजित एकल नृत्य प्रतियोगितामा सरस्वती माविकी छात्रा मेनुका राईले सान्त्वना स्थान हासिल गर्नुभएको जनाइएको छ ।
प्रतियोगिताका दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतियोगीले क्रमशः नगद रु सात हजार, रु पाँच हजार र रु दुई हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको प्रतियोगिताका विजयीहरुलाई परिवारका सदस्यहरुले नगदसहितको पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा फाउन्डेसनले हालसम्म गर्दै आएको सामाजिक कामको विवरणसमेत सार्वजनिक गरिएको थियो । फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिलाई लुगा वितरण, मानवसेवा आश्रमलाई तिजका अवसरमा रु दश हजार सहयोग तथा बाम्राङ–चुप्ला खानेपानी योजनामा रु एक लाख बराबरको मर्मत गरेको जनाइएको छ ।
फाउन्डेसनमा जम्मा भएको रकमको ब्याजबाट पूर्ण अपाङ्गता भएकी स्थानीय लिलामाया खत्रीलाई मासिक रु चार हजार सहयोग गर्दै आएको जनाइएको छ । विविध कार्यक्रमका साथ आयोजना गरिएको फाउन्डेसनको साधारणसभामा खत्रीलाई न्यानो कपडासमेत प्रदान गरिएको थियो ।
फाउन्डेसनबाट नियमित छात्रवृत्ति लिइरहेका विपन्न तथा कमजोर आर्थिक अवस्थाका उत्कृष्ट दुई जना विद्यार्थीलाई स्टेशनरी, विद्यालय पोसाक, न्यानो कपडा, झोला र जुत्तासमेत वितरण गरिएको छ । सुर्केडाँडा आधारभूत विद्यालयको कक्षा–८ मा अध्ययनरत छात्र श्यामकुमार खत्री र सावित्रा माध्यमिक विद्यालयको कक्षा–७ मा अध्ययनरत छात्रा युनिशा विश्वकर्मालाई उक्त सामग्री वितरण गरिएको हो ।
नियमित छात्रवृत्ति लिइरहेका उनीहरूका लागि स्नातक तहसम्मको अध्ययनमा लाग्ने सम्पूर्ण शैक्षिक खर्च फाउन्डेसनले व्यहोर्ने फाउन्डेसनका अध्यक्ष लिलाबहादुर खत्रीले जानकारी दिनुभएको छ । शिक्षा र मानव सेवामा योगदान पु¥याउने उद्देश्यले वि.सं. २०७८ सालमा परिवारको तर्फबाट रु दश लाख पाँच हजारबाट स्थापना गरिएको फाउन्डेसनमा हाल रु १३ लाख ५९ हजार ५९३ जम्मा भएको जनाइएको छ ।


