खोटाङ, १९ असार । सामाजिक तथा राजनीतिक विमर्शका रुपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार–२१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहनुभएका खोटाङ्गे कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन–४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो ।
खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीको रुपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्यान्ह १२ बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जनकारी दिनुभएको छ ।
नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिनुभएको छ । “नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीमा पक्षपात र नागरिक आवाजमाथिको दमनजस्ता विषयलाई उजागर गर्नेछ । ‘हराएको कुकुर’ राज्यद्वारा हराइएको सत्यको प्रतीक हो”, उहाँले भन्नुभयो, “यो नाटक एउटा सरल खोजिको कथा मात्र होइन । यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झकझक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो ।”
मञ्चनको सम्पूर्ण तयारी पूरा भएको ‘हराएको कुकुर’ एउटा रूपकात्मक नाटक भएको निर्देशक कुलुङले बताउनुभएको छ । “कुकुर हराएको सामान्य घटनाबाट सुरू हुने कथा क्रमशः एउटा गम्भीर सामाजिक तथा राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ”, उहाँले भन्नुभयो, “जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् । यो नाटकले धेरै दर्शकको मन जित्ने विश्वास लिएका छौँ ।”
नेपाली रङ्गमञ्चका चर्चित नायक दयाहाङ राईले थापागाउँमा सञ्चालन गर्नुभएको मण्डला थियटरमा मञ्चन हुने नेपाली नाटक ‘हराएको कुकुर’लाई रवीन तामाङले नाट्य रुपान्तरण गर्नुभएको जनाइएको छ । नाटकका मञ्चमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङ लगायतको अभिनय÷प्रस्तुति रहने जनाइएको छ ।
यस्तै, अबिनास डि एम, मिना श्रेष्ठ, मनि कुलुङ, सुनिल वाहिङ राईको प्रस्तुति समेत मञ्चमा रहनेछन् । नेपथ्यतर्फ भने ध्वनी परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले, प्रकाश परिकल्पनामा उमेश तामाङ र प्रकाश परिचालकमा सुनिल बाहिङ राई रहनुभएको जनाइएको छ ।
नाटकमा दीपा मगराती, दिनेश श्रेष्ठ, पुजन लिम्बु, आकाश मगर, मञ्जिल मगर, अनुप न्यौपाने, प्रज्ञा विष्ट लगायतको समेत मञ्चन भूमिका रहने जनाइएको छ । दुई हप्तासम्म मञ्चन हुने कथा÷निर्देशक रङ्गकर्मी थुलुङको नाटक ‘हराएको कुकुर’को ट्रेलर मण्डला थियटरले समेत सार्वजनिक गरिसकेको छ ।
पाँच वर्षदेखि राजधानी काठमाडौँमा रहेर रङ्गमञ्चमा गर्दै आउनुभएका रङ्गकर्मी कुलुङले यसअघि नेपाली कथानक नाटक ‘मृत्यु कुण्ड’को निर्देशन गर्नुभएको थियो । खुवालुङ, दमिनीभिर, ताप, बिम्बको सपना, रामप्रसाद राई लगायत दर्जनौँ चर्चित नाटकमा अभिनय गरिसक्नुभएका रङ्गकर्मी कुलुङको यो नाटकले दर्शकको मन जित्ने अपेक्षा गरिएको दर्शकहरुले बताएका छन् ।


