खोटाङ, १८ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दाजुभाइ गायक तथा सँगीतकार भक्त विश्वकर्मा र केदार अनुरागीको स्वरमा सजिएको ‘छहरा छाँगा’ बोलको गीत सार्वजनिक भएको छ । विश्वकर्मा दाजुभाइले तयार पार्नुभएको राष्ट्रभावले ओतप्रोत गीतलाई खबरमल्टी नामक यू–ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
करुणा फाउण्डेशनको सहयोगमा तयार पारिएको विश्वकर्मा दाजुभइको गीतमा राष्ट्रभाव प्रकट गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कृष्णप्रसाद आचार्यको शब्द र भक्त विश्वकर्माको सँगीत रहेको गीत प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौँमा रेकड गरिएको हो ।
बीबी अनुरागीको म्यूजिक अरेञ्ज रहेको गीतको रेकर्डिष्टमा गोविन्द अनेक र कमल थापा रहनुभएको छ । गीतको रिदम गिटारमा सञ्जीव बराइली, सारङ्गीमा हेमन्त कान्छा रसाइली, रिदममा भुवन गन्धर्ब, बाँसुरीमा गोपाल देव रहनुभएको छ ।
सम्वादसहित सात मिनेट २० सेकेन्ड लामो गीतमा श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको छ । विश्वकर्मा दाजुभाइले गाउनुभएको गीत दिक्तेल बजारमा यही माघ–१६ गते आयोजित बाँसुरी बादन प्रतियोगिताको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बजाएर सार्वजनिक गर्नुभएको छ ।
हिमाल, पहाड, डाँडापाखा, नदीनाला, झरना तथा चराचुरुङ्गीको आवाजले सँगीत भरिएको हाम्रो देश नेपाल सुन्दर छ भन्ने सन्देश गीतमार्फत संसारभर दिन खोजिएको गायक तथा सँगीतकार भक्त विश्वकर्माले जानकारी दिनुभएको छ । लामो समयदेखि साँगीतिक क्षेत्रमा सक्रिय विश्वकर्मा दाजुभाइको स्वरमा सजिएको राष्ट्रभाव प्रकट गीत उत्कृष्ट रहेको सँगीतकर्मीहरुले प्रतिक्रिया दिएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्