हलेसी खबर
सोलु, ३० मंसिर । सोलुखुम्बुको काँगेल विमानस्थल मंगलबार बाट सूचारु भएको छ । आज काँगेल बिमानस्थलमा नेपाल एयरलाईन्सको बिमानको सफल अवतरण गर्दै सेवा सूचारु गरिएको हो ।
गएको ६ बर्षदेखि बन्द रहेको बिमानस्थललाई पूनः संचालन गर्नका लागि नेपाल वायु सेवा निगम र थुलुङ दुधकोशी गाउँपालिका बिच भएको सहमति अनुसार तयारी बढाईएको थियो । गाउँपालिकाको पहलकदमी र निगमको सक्रियताले काँगेल विमानस्थलमा जहाज अवतरण गर्न सफल भएको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले जानकारी दिएका छन् ।
मंगलबार वायुसेवा निगमका क्याप्टेन पेम्बा शेर्पाको नेतृत्वमा नेपाल एयरलायन्सको नाइन एन–ए बि यु कल साईनको जहाजले नागरिक उड्ययन प्राधिकरण र वायु सेवा निगमका ११ जना यात्रु लिएर काँगेल आईपुगेको हो । राईका अनुसार गत बिहिबार नै परिक्षण उडान गर्ने भनिएपनि बिबिध प्राबिधिक समस्याका कारण मंगलबार विहान ९ बजे परीक्षण उडान गरिएको हो ।
६ बर्ष देखि बन्द रहेर गौचरनमा परिणत भएको विमानस्थल स्थानीय, प्रदेश र केन्द्रिय सरकारको विशेष पहल र सक्रियताबाट संचालनमा ल्याउन सफल भएको अध्यक्ष राईको भनाईरहेको छ ।


