खोटाङ, ८ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ओजनबाबु आचार्यले ज्येष्ठ नागरिक सङ्घ खोटाङका लागि टेलिभिजन र वाईफाई जडानका लागि आर्थिक सहयोग गर्नुभएको छ । दिक्तेल बजारस्थित मन्दिरडाँडा रहेको कार्यालयमा सङ्घले आइतबार आयोजना गरेको स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रममा आचार्यले रु १२ हजार आर्थिक सहयोग गर्नुभएको हो ।
सङ्घका अध्यक्ष धनपति आचार्यको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरीले दिवा खाजाका लागि रु दश हजार सहयोग गर्नुभएको छ । कार्यक्रममा सहभागी १०० भन्दा बढी ज्येष्ठ नागरिकको रक्तचाप परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका डा. सन्तोष दाहालले बताउनुभएको छ ।
आर्थिक सहयोग तथा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले ज्येष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका भण्डार भएको उल्लेख गर्नुभएको छ । “युवापुस्ताले हामी जवान छौँ भन्दै आमाबुबालाई बेवास्ता गर्न नहुनेमा जोड दिनुहुँदै उहाँले भविष्यमा आफूहरू पनि त्यही अवस्थाबाट गुज्रनुपर्छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकसँग छलफल गरेर के–के आवश्यक छ त्यसको आवश्यकता अनुसार वडाले सम्बोधन गर्छ । यो मेरो प्रतिबद्धता हो ।”
वडा दिेक्तेलले पहिलेदेखि नै ज्याकेट, सिरक, तातोपानी खाने थर्मस र अपाङ्गता भएका व्यक्तिहरूलाई दिशापिसाब गर्ने सामग्री वितरण गर्दै आएको जनाएको छ । सङ्घले आयोजना गरेको आर्थिक सहयोग तथा स्वासथ्य परीक्षण कार्यक्रममा सङ्गीत कला घर खोटाङका कलाकारहरूले साँस्कृतिक प्रस्तुतिसमेत गरेका थिए ।


