हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु

Halesi Khabar

खोटाङ, ११ चैत । रोजगारीको खोजीमा भारतको हैदरावाद पुग्नुभएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भँडारेका २५ वर्षीय तीलक परियारको सवारी दुर्घटनामा मृत्यु भएको छ । होटलमा काम गर्नका लागि साथीहरूसँगै यही चैत–५ गते हैदरावाद पुगेकै भोलिपल्ट चैत–६ गते गाडीले ठक्कर दिँदा गम्भीर भाइते हुनुभएका तीलकको उपचारको क्रममा आज (बुधबार) मृत्यु भएको हो ।

धन कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै तीलकले गाडी दुर्घटनामा ज्यान गुमाएको खबर प्राप्त भएको स्थानीय अगुवा अमरसिं बस्नेतले जानकारी दिनुभएको छ । हैदरावाद गएर होटलमा काम गर्ने भन्दै तीलक गाउँकै साथीहरु सन्तोष परियार र कृष्ण परियारको साथमा चैत–२ गते घरबाट हिँड्नुभएको थियो ।

पैदल तथा गाडीको बाटो हुँदै चैत–५ गते साथीहरुसँग हैदरावाद पुग्नुभएका तीलकलाई चैत–६ गते गाडीले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो । पैदल यात्रा गरेर सडक पार गर्नेक्रममा तीलकलाई गाडीले ठक्कर दिएको साथीहरुले बताएका छन् ।

दुर्घटना लगत्तै गान्धी अस्पताल, सेकन्दरावादमा भर्ना गरेर उपचार गर्नेक्रममा चैत–११ गते बिहान तीलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिएका छन् । कमजोर आर्थिक अवस्थाका तीलक र सन्तोष निर्वाचन प्रहरीको जिम्मेवारी सम्पन्न गरेर घर फर्किएपछि हैदरावादतर्फ गएको पारिवारिक स्रोतले बताएका छन् ।

स्थानीयले दिएको जानकारी अनुसार मृतक तीलक घरका दुई छोरामध्ये कान्छो छोरा हुनुहुन्छ । उनीहरूका पाँच जना दिदीबहिनी रहेका छन् । श्रीमतीसँग अलग्गिएर बस्नुभएका मृतक तीलकका पाँच वर्षका एक छोरा छन् ।

हैदरावादतर्फ हिँडेकै दिन तीलकको घर हावाहुरीले उठाएर परिवारको बिचल्ली बनाइदिएको स्थानीयले बताएका छन् । मृतक तीलक सन्तोष र कृष्णसँगै रोजगारी दिलाउने भन्दै भारत लैजाने ठेकेदार पछ्याउँदै हैदरावाद पुगेको बुझिएको छ ।

धन कमाउन भारत गएको छोराको गाडी दुर्घटनामा परेर हप्ता दिन नबित्दै मृत्यु भएको खबर आएपछि परिवार शोकमग्न बनेको छ । खोटेहाङ गाउँपालिकासँगै दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहबाट वर्सेनी दर्जनौँ युवा रोजगारीको खोजीमा भारत जाने गरेका छन् ।

गत माघ–२२ गते भारतको मेघालयस्थित कोइलाखानीमा विष्फोट हुँदै खोटाङका चार जनाले ज्यान गुमाएका थिए । मेघालयस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बरापोखरीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर, ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५० वर्षीय रत्न राईको मृत्यु भएको हो ।

विष्फोटमा गम्भीर घाइते भएका नेपालका चार जनाको सिलोङस्थित निलग्रीन हस्पिटल (अस्पताल)मा उपचार भइरहेको घटनास्थल पुग्नुभएका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । बराहपोखरी गाउँपालिका–१ सालघारीका ४७ वर्षीय कर्णबहादुर मगर र भञ्ज्याङका ४० वर्षीय बमबहादुर मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा तथा छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका ललितबहादुर मगरको उपचार भइरहेको हो ।

दुर्घटनाका मृतक परिवारलाई सम्बन्धित स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराएको छ । बराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले रु ५०÷५० हजार आर्थिक सहयोग उपलब् गराएको हो ।

तपाईको प्रतिक्रिया