खोटाङ, ११ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा उभ्याउन माग गर्दै संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । पीडित परिवार र अधिकारकर्मीहरूले बुधबार प्रशासनका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईलाई ज्ञापनपत्र बुझाउँदै घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको र घटनामा संलग्न दोषीहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
गत भदौ–३० गते साँझ पञ्चमी बजारमा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत कर्मचारी रेश्मिका कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनको ह्याकुलेस्थित रमिते भन्ने स्थानमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक तथ्यहरूले रेश्मिकालाई सामूहिक बलात्कारपछि हत्या गरेको प्रमाण हुँदाहुँदै पनि प्रहरीले अहिलेसम्म अभियुक्तहरूलाई पक्राउ नगरेको पीडित परिवार तथा दलित अधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् ।
ज्ञापनपत्रमा रेश्मिकाको बलात्कारपछि हत्यामा संलग्न सबै शंकास्पद व्यक्तिहरूको तत्काल पहिचान गरी प्रचलित कानून बमोजिम हदैसम्मको सजाय सुनिश्चित गर्न माग गरिएको छ । यस्तै, घटनामा संलग्न व्यक्तिहरू अहिले पनि गाउँ समाजमा खुलेआम हिँडिरहेकाले पीडित परिवारले असुरक्षा महसुस गरेको भन्दै उनीहरूलाई तत्काल शान्ति सुरक्षा प्रदान गर्न प्रशासनसँग माग गरिएको छ ।
संयुक्त दलित सङ्घर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटाल र दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा भनिएको छ, “समाजमा दिनप्रतिदिन महिलामाथि हुने अमानवीय र क्रूर हिंसाले असुरक्षा र त्रास फैलाएको छ । बलात्कारपछि हत्याजस्तो जघन्य घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धानका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी कुनै पनि दबाब वा प्रभावबिना सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दछौँ ।”
ज्ञापनपत्रमार्फत पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न समेत प्रशासन समक्ष माग गरिएको छ । यदि आफ्ना न्यायोचित मागहरूलाई बेवास्ता गरिए वा दोषीलाई उन्मुक्ति दिने प्रयास गरिए कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउने सङ्घर्ष समितिले चेतावनीसमेत दिएको छ ।
दलित अधिकारकर्मीले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रशासनका प्रमुख प्रशासकीय अधिकृत राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भएको घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । घटनामा संलग्न एक युवकलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको र केही रिपोर्ट (प्रतिवेदन) आउन बाँकी रहेकाले रिपोर्ट आएपछि अनुसन्धान निष्कर्षमा पुग्ने जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
गत भदौ–३० गते अपरान्ह आफ्नो काम सकेर कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल झाडीमा सोही राति मृत फेला पर्नुभएको थियो । जागिरका लागि काममा जानुभएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा कडा कानूनी कारबाही गर्दै आएका छन् ।


