दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी

Halesi Khabar

–मिनाक्क्षी राई
खोटाङ, १० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चालु आर्थिक वर्षमा १५ वर्षमुनिका एकजना बालबालिकासहित १४ जना नयाँ क्षयरोग (टिबी)का बिरामी फेला परेका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षमा जम्मा १४ जना नयाँ क्षयरोगका बिरामी उपचारमा रहेको जानकारी गराइएको हो ।

क्षयरोग पहिचान भएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नगरपालिकाले निःशुल्क औषधि वितरण गर्ने गर्दै आएको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभएको छ । “गत वर्ष १७ जना क्षयरोगका बिरामी पहिचान गरी उपचार गरिएको थियो । तीमध्ये ४१ प्रतिशत महिला, ५९ प्रतिशत पुरुष तथा १५ वर्षमुनिका १२ प्रतिशत बालबालिका थिए”, उहाँले भन्नुभयो, “उपचारमा रहेका बिरामीमध्ये ८२ प्रतिशतमा फोक्सोसम्बन्धी र १८ प्रतिशतमा अन्य अङ्गमा हुने क्षयरोग देखिएको छ । चारवटा स्वास्थ्य संस्थामा खकार परीक्षण तथा जिल्ला अस्पतालमा जिनएक्सपर्ट सेवासहित निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।”

क्षयरोग भएका बिरामीका लागि औषधि तथा उपचारमा कुनै खर्च नलाग्ने र नगरका १८ वटा स्वास्थ्य संस्थामार्फत उपचारको व्यवस्था मिलाइएको जनाइएको छ । समयमै परीक्षण, नियमित औषधि सेवन र जनचेतना अभिवृद्धिबाट मात्र क्षयरोग नियन्त्रण सम्भव हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

विश्व क्षयरोग दिवसको अवसर पारेर नगरपालिकाले ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ । राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित दिक्तेल बजारमा ¥यालीसमेत निकालेको थियो । दिक्तेल बजार परिक्रमा गरिएको ¥यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाको सहभागिता रहेको थियो ।

स्थानीय सरकारले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउन निरन्तर काम गरिरहेको कार्यक्रममा सहभागी वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राईले जानकारी दिनुभएको छ । वडाध्यक्ष राईले क्षयरोग नियन्त्रण गर्न समुदायस्तरमै सचेतना फैलाउन र कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

नगरपालिकाले तीनवटा स्वास्थ्य संस्था खार्मी, सोल्मा र बुवालुङमा एआई जडित एक्स–रे मेसिनमार्फत निःशुल्क क्षयरोग पहिचान शिविर सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । बिरामी र बिरामीका परिवारले आर्थिक भार, सामाजिक लाञ्छना र स्रोतसाधनको अभावका कारण क्षयरोग सम्बन्धी समस्या जटिल बनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २००४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका थिए । जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२७ जना रहेको छ । हरेक वर्ष करिब १६ हजार क्षयरोगका कारण जनाको मृत्यु हुने अनुमान गरिएको छ भने अझै पनि ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया