खोटाङ, ८ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा रु पाँच लाखको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । स्व. मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व. छोराहरु राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुुन् ।
मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयको आवश्यककीय कामकाजमा खर्च गरिने कुमारीकृष्णका छोरा भोगिन्द्र राई ‘एक्ले’ले बताउनुभएको छ । “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारको प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुको सम्मानमा परिवारका सदस्यहरु मिलेर अक्षयकोष स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “अक्षयकोषको संरक्षकमा परिवारकै एकजना सदस्य बसेका छौँ । मुलधन नमासिने गरी त्यसको ब्याजबाट आवश्यककीय कामकाजमा खर्च गर्ने अधिकार विद्यालयलाई दिएका छौँ ।”
मुगाधन र भलशोभा राईका कान्छा छोरा स्व. ध्यानबहादुर राईको सम्झनामा रु ३४ हजार ५०० मुल्य बराबरको हार्मोनियम, मादल र बासुरीसमेत विद्यालयलाई प्रदान गरिएको जनाइएको छ । अक्षयकोष स्थापना तथा वाद्यवादन सामग्री हस्तान्तरण कार्यक्रममा कर्णबहादुर र कुमारीकृष्ण राईलाई अभिनन्दनसमेत गरिएको विद्यालयका पूर्व प्रधानाध्यापक वेदीकुमार राइले जानकारी दिनुभएको छ ।
विद्यालयको शैक्षिक अभिवृद्धि र सौन्दर्यकरणमा रु ६० हजार ६०० सहयोग गर्ने स्थानीय तथा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका लेखापाल प्रेमकुमार राईलाई सम्मान गरिएको छ । प्रमुख अतिथि संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पूर्वनगरप्रमुख दीपनारायन रिजाल तथा वडाध्यक्ष माधव राई लगायतको उपस्तिथिमा कार्यक्रमको आयोजना गरिएको हो ।


