हलेसीको दर्शन सिद्राको व्यापार

Halesi Khabar

भिम राई

खोटाङको त्रिधार्मिक स्थल हलेसीमा लाग्ने ५ वटा मेला मध्ये ३ वटा विशेष मेलामा आउँछन् सर्लाहीका रामलखन शाहा । हलेसीमा लाग्ने बालाचतुर्दशी, शिवरात्री र रामनवमी मेलामा उनी सर्लाही देखि १ क्विन्टल सिद्रा (सुकेको माछा) लिएर सालको ३ पटक आउँछन् ।

करिब १२ बर्षअघि जब पुल र बाटो राम्रो थिएन त्यस बेलादेखि उनी आउन थाले । जुनबेला घुर्मी सम्ममात्र गाडी चल्थ्यो । घुर्मीबाट हिँडेर पहिलो पटक हलेसी आएका राम लखन यसपाली पनि सिद्राको व्यापार लिएर हलेसी आईपुगे । शुरुमा आउँदा १ सय ५० रुपैयामा १ केजी सिद्रा बेच्ने उनी अहिले ५सय रुपैयाँमा सिद्रा बेच्छन् ।

अहिले ५५ बर्षको उमेर भएका उनी ४१÷४२ को उमेरका हुँदा पहिलो पटक हलेसी मेला भर्न आए । आफ्नो बुवाहरुले हलेसीको चर्चा परिचर्चा गरेको सुनेका उनले त्यसबेला पनि उही व्यापार लिएर आएका रहेछन् ।

त्यसबेला अलिकती सिद्रा लिएर आएको उनले सुनाए, ‘हलेसी महादेवको दर्शन गर्न आउँदा बाटो खर्च हुन्छ भनेर लिएर आईहालेको थिँए हजुर’ उनले थपे, ‘सबै बिक्रि भईगयो । हामी त कम्ता खुशी भै हालेन ’

उनी त्यसबेला रामनवमी मेलाको बेला आएका रहेछन्। ५ दिन सम्म रमाईलो गरेर बजार घुमेपछि आफुलाई बानी परेको उनले सुनाउँछन्। ‘हजुर हामी त सालीन्ने आई रहेछौँ । तर यसपालि बजार राम्रो छैन रहेछ’ उनले गुनसो गर्न भ्याए ।

कोभिड १९ को कारण बजार लाग्छ कि लाग्दैन होला भन्दै आएका उनि यहाँ आएपछि भने अलि अलि भएपनि बजार देखेर आशा लागेको सुनाउँछन् । श्रीमती पनि सँगै लिएर आएका उनले छहारी बनाएर ३÷४ दिन बसेर फर्कने बताए ।

व्यापार नसके दिक्तेल बजार सम्म हेर्न मन लागेको उनले सुनाए ‘दिक्तेल सुनेको छु हजुर ! त्यता सिद्रा मन पराउँलान त सर ?’ उने सोधे । उनी सायद दिक्तेल हेर्न चाहान्छन् । तर हलेसी जस्तो ‘हलेसी दर्शन सिद्राको व्यापार होला कि नहोला’ उनको श्रीमतीको मनमा प्रशस्त प्रश्न रहेछ । सिद्रा जोख्दै उनले भनिन् ‘त्यता मेला लाग्दैन हजुर ?’

तपाईको प्रतिक्रिया