हलेसी खबर
खोटाङ, २७ मंसिर । खोटाङको जन्तेढुँगामा गाउँपालिका चिसापानीमा सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाईएको छ । जन्तेढुँगा गाउँपालिका वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तीले हडपेर नीजि बनाएको खुलेको हो ।
चिसापानी बजार भन्दा माथी रहेको करिब ३ रोपनी सार्वजनिक जग्गा ४ जना व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाईएको छ । २०४२ सालमा नापी टोलिमा आएका कर्मचारीसँग मिलेर स्थानीय सुक्रिम राई, प्रेमबहादुर बस्नेत र जग्गा नाप्न आएका दास थरका अमिन लगायतले दर्ता गरेको पाईएको गाउँपालिका अध्यक्ष शंकरबहादुर राईले जानकारी दिए ।
‘चिसापानी बजार क्षेत्रमा खाने पानीको ट्यांकी समेत निर्माण गरिएको जग्गा कसैलाई जानकारी नै नदिई दर्ता गरेका रहेछन्’ अध्यक्ष राईले भने, ‘ जग्गाधनि हुँ भन्दै सुक्रिम राईको छोरा शिवकुमार राईले स्काभेटर लगाउन आउँदा मात्र सो जग्गा व्यक्तिको नाममा पुगेको रहेछ भन्ने थाहा भो ।’ त्यस जमिनमा २०३८ सालतिर नै चिसापानी बजारमा पिउने गरी खानेपानीको ट्यांकी बनाईएको थियो ।
भुमि सम्बन्धि ऐन २०२१ को परिच्छेद ७ को मोही सम्बन्धी व्यवस्थाको दफा २५को मोहीको हक प्राप्त हुने अवस्थाको १ अनुसार नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाईएको छ । २०४२ सालमा आएकोे नापीमा दर्ता गर्न आएका कर्मचारीलाई प्रलोभनमा पारेर मिलेमतोमा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको गाउँपालिकाको दावि छ ।
गाउँपालिका प्रमुख राईले मालपोत ऐन २०३४ को परिच्छेद ७ को जग्गा आवाद गर्ने सम्बन्धि व्यवस्थाको दफा २४ को धारा १ अनसाुर नीज व्यक्तिहरुले कसुर गरेको भन्दै अदालतमा मुद्धा दायर गर्ने तयारी गरेको जानकारी दिए । मालपोत ऐन २०३४ को केही नेपाल कानुनलाई शंसोधन, एकिकरण, समायोजन र खारेज गर्ने ऐन २०७४ मा व्यवस्था भए अनुसार उक्त जग्गाको २०२१ सालमा उतारिएको ७ नम्बर फाँटवारीमा नेपाल सरकारको स्वामित्व देखिने भएकाले सो जग्गा व्यक्तिले हडप्न नमिल्ने पालिका प्रमुख राईको भनाई रहेको छ ।
स्थानीय सर्वसाधरण तथा चिसापानीका वयोवृद्धहरुले समेत सो जग्गा कसैको भोगचलनमा नरेहको सरकारको नाममा खाली बाँझोचौरी रहेको बताएका छन् । उता तत्कालिन समयमा जग्गा आफ्नो नाममा दर्ता गर्नेहरु मध्येका प्रेमबहादुर बस्नेतले भने उक्त जग्गा सोही ठाउँमा बस्ने माथवर सीँ राउतलाई विक्रि गरिसकेका छन् ।
माथवर सीँ बस्नेतले भने सो जग्गा सरकारीनै रहेको थाहा भएकाले प्रकृया मिलाएर फिर्ता गर्ने बताएको पालिका प्रमुख राईले जानकारी दिए । राउतले हाल जग्गाको प्रकृति र पुरानो प्रमाणहरु बुझ्दा सो जग्गा सार्वजनिक नै ठहरीने देखिएको र त्यसबेला जालझेल गरेर व्यक्तिको नाममा दर्ता गरेको बुभिएकाले सो जग्गा फिर्ता गर्न राउत तयार भएका हुन् ।


