हलेसी खबर
चिसापानी, १८ मंसिर । खोटाङको जन्तेढुँगा गाउँपालिकाको केही भागको सडक एक हप्ताका लागि बन्द गरिएको छ । सडकको स्तरउन्नती गर्न ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले सडक बन्द गरिएको गाउँ पालिकाले जनाएको छ ।
जन्तेढुँगा गाउँ पालिकाको चिसापानी, देविस्थान, फेदी र वंशिला सडकको स्तरउन्नती गर्न लागेको जन्तेढुँगा गाउँपालिका अध्यक्ष शंकरबहादुर राईले जानकारी दिएका छन् । सडकको चौडाई बढाउन ठाउँ ठाउँमा ब्रेकर प्रयोग गर्नु पर्ने भएकाले कुनै पनि यातायातका सवारी साधन नचलाउन पालिकाले सूचना जारी गरेको छ ।
पालिकाले १८ गते बिहिकार एक सूचना प्रकाशित गर्दै मंसिर २५ गते सम्मका लागि सडक बन्द भएको जनाएको छ । सूचनामा चिसापानीबाट बंशिला जाने सवारी साधनलाई मौवाबोटे हुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । सूचनामा गाउँपालिका अध्यक्ष शंकरबहादुर राईले हस्ताक्षर गरेका छन् ।



