किरात पहिचान नामक वृत्तचित्र सार्वजनिक

Halesi Khabar

हलेसी खबर
खोटाङ, १३ मंसिर । किरात राई यायोक्खा खोटाङको व्यावस्थापनमा ‘किरात पहिचान’ नामक वृत्तचित्र सार्वजनिक भएको छ । किरात राई कलाकार संघका केन्द्रीय उपध्याक्ष तथा लेखक शालिक शतासकको खोज अनुसन्धान तथा निर्देशनमा बनेको वृत्तचित्र शनिबार सार्वजनिक गरिएको हो ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको एक समारोहबिच प्रदेश सभा सांसद रामकुमार राई पासाङले कम्प्युटरको कि दबाएर वृत्तचित्र सार्वजनिक गरेका हुन् । एक नम्बर प्रदेशको नामाकरण किरात प्रदेश राखिनु पर्ने किरात राई यायोक्खा लगायतले माग अगाडि सारिरहेको बेला ‘किरात पहिचान’ नामक वृत्तचित्रले आन्दोलनमा उर्जा दिन सक्ने कार्यक्रमका सहभागिहरुले बताएका छन् । कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशलाई किरात प्रदेश बनाउने अभियानमा अहिले निरन्तर आफ्नो अभियान जारी रहेको सांसद राईले बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणा देवि राई, नेकपाका जिल्ला सचिव राम प्रसाद दंगाल, जनता समाजवादी पार्टीका जिल्ला उपाध्याक्ष पिके खम्बु, राप्रपाका जिल्ला अध्यक्ष जीवन कुमार श्रेष्ठ, गैरसरकारी सँस्था महासंघका जिल्ला अध्यक्ष दानबहादुर राई, किरात राई यायोक्खाका केन्दिय सदस्य अन्जना राई लगायतले शुभकामना मनत्व्य दिएका छन् ।
यस्तै वृत्तचित्रमाथी मुन्धुम विद भोगिराज चाम्लिङले संक्षेपमा टिप्पणी गरेका थिए भने सबै सहभागीहरुलाई लेखक तथा निर्देशक शालिक शतासकले धन्यवाद ज्ञापन गरेका छन् ।
६५ मिनेट लामो वृत्तचित्रमा समाज विकासको ऐतिहासिक चरण देखि आदीवासी जनजातीको पहिचानसँग जोडिएका तथ्यहरुलाई प्रस्तुत गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति खोटाङका अध्यक्ष हातिराम राईको अध्यक्षतामा भएको कार्यक्रम सचिव युगसन राईले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया