इलाका प्रशासन र प्रहरी चौकी स्थापनाको माग गर्दै प्रशासनमा ज्ञापन

Halesi Khabar

खोटाङ, १० मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकाले इलाका प्रशासन कार्यालय र प्रहरी चौकी स्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाको वडा नम्बर–५ चिसापानी बजारमा इलाका प्रशासन र वडा नम्बर–२ बोपुङस्थित होमालाममा प्रहरी चौकी स्थापनाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

गाउँपालिका प्रमुख शंकरबहादुर राईले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा सेवा प्रवाहमा समस्या हुनुका साथै शान्ति सुरक्षा व्यवस्थापनमा समस्या भएकाले इलाका प्रशासन र प्रहरी चौकी स्थापनाको माग गरिएको जनाइएको छ । गाउँ कार्यपालिकाको मङ्सिर–८ गते बसेको बैठकले इलाका प्रशासन कार्यालय र प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेपछि प्रशासनमा ज्ञापनपत्र बुझाइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

गाउँपालिकाले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको छ । गाउँपालिकाको तर्फबाट प्रशासनमा ज्ञापनपत्र बुझाउन गाउँपालिका प्रमुख शंकरबहादुर र उपप्रमुख विमला राई जिल्ला प्रशासन पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया