एसएलसीमा जिल्ला उत्कृष्ट विद्यार्थीद्धारा विद्यालयमा अक्षय कोष

Halesi Khabar

खोटाङ, ९ मङ्सिर । एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविका पूर्व विद्यार्थीले आफ्नो आमाबुबाको नाममा अक्षय कोष स्थापना गर्नुभएको । वि.सं. २०६८ सालमा सामुदायिक विद्यालयमध्येबाट जिल्लाकै सबैभन्दा बढी अङ्क ल्याएर एसएलसी उत्तीर्ण गर्नुभएका प्रमोद राईले आफ्नो बुबा कर्ण राई र आमा सरस्वती राईको नाममा रु एक लाख ५१ हजार राशीको अक्षय कोष स्थापना गर्नुभएको हो ।

हाल अमेरिकामा कम्प्युटर इन्जिनियरिङमा ग्रेजुएसन गरिरहनुभएका प्रमोदले गरिब तथा जेहेन्दार विद्यार्थीको चौतर्फी विकासका लागि आफूले मावि तह अध्ययन गरेको विद्यालयमा आमाबुबाको नाममा ‘कर्ण–सरस्वती दुङभहँछा अक्षय कोष’ स्थापना गर्नुभएको वडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । अक्षय कोषको वार्षिकरुपमा आउने ब्याजबाट बाम्राङ भरीका मावि तथा आधारभूत विद्यालयले वार्षिकरुपमा सञ्चालन गरेको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरेर प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रमोदले सावित्रा माविमा दुई कार्यकाल प्रअको भूमिका निर्वाह गरेपछि राजीनामा दिएर गाउँको शैक्षिक तथा सामाजिक रुपान्तरणमा योगदान पु¥याउँदै आउनुभएका बुबा कर्ण र आमाको नाममा अक्षय कोष स्थापना गरिदिनुभएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । अक्षय कोष सञ्चालनका लागि स्थानीय युगसन किराँतको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।

विद्यालयमा स्थापना गरिएको अक्षय कोषको राशी वर्षेनी बढाउँदै लैजाने सञ्चालक समितिका अध्यक्ष राईले बताउनुभएको छ । “प्रमोदले पनि पछि थप गर्दै जाने वचन दिनुभएको छ”, उहाँले भन्नुभयो, “यो असल कार्य शुरुवातको लागि कान्छा भाइलाई हार्दिक आभारसहित धन्यवाद !”

तपाईको प्रतिक्रिया