खोटाङ, २३ असोज । एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा खोटाङका दुई युवक पक्राउ परेका छन् । गएराति करीब दश बजेको समयमा दिक्तेल बजारस्थित रत्नपार्कमा अन्दाजी १५÷१६ वर्षकी किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राई पक्राउ परेका हुन् ।
आफूमाथि राईद्धयले यौन दुव्र्यवहार गरेको भन्दै किशोरीले सामुदायिक प्रहरी सेवा केन्द्र दिक्तेलमा दिएको उजुरीको आधारमा दुवैजनालाई गएराति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजना विरुद्ध शुक्रबार यौन दुव्र्यवहार सम्बन्धी मुद्दा दर्ता गरेर कारवाही शुरु गरिएको जनाइएको छ ।
यसैबीच, आफ्नै घरमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा खोटाङका एक युवक बन्दुकसहित पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनीका ३० वर्षीय मेघराज राईलाई शुक्रबार दुई थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने खजनासहित प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
अवैध रुपमा घरमा बन्दुक राखेको भन्ने स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई बन्दुकसहित पक्राउ गरिएको प्रनाउ चिमोरीयाले बताउनुभयो । बन्दुकसहित पक्राउ परेका राईमाथि थप अनुसन्धान शुरु गरिएको जनाइएको छ ।


