खोटाङ, १३ चैत । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माणको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु तीन करोड बजेटमा साढे दुईतले पक्की कार्यालय भवन निर्माणको काम सुरु गरिएको हो ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा मोहन एण्ड बेँसीगाउँ–रुपाकोट–सरस्वती जे.भी. खोटाङले रु दुई करोड छ लाख ४१ हजार ५४६ मा सम्झौता गरेर पत्रकार महासङ्घको कार्यालय भवन निर्माणको काम सुरु गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “पत्रकार महासङ्घको भवन चार कोठाको साढे दुई तले बन्छ । निर्माण कम्पनीसँगको सम्झौताअनुसार वि.सं. २०८४ पुस–२३ गतेभित्र भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “पूर्वाधार कार्यालयको तर्फबाट निर्माण कम्पनीलाई सक्दो सहयोग हुनेछ । तोकिएको मितिभित्र सम्पन्न गराउन निर्माण कम्पनीलाई सुरुवाती चरणबाटै खबरदारी गर्छौँ ।”
पूर्वाधार विकास कार्यालयले गत पुस–२३ गते निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माणको काम सुरु गरिएको पत्रकार महासङ्घको भवन आज (शुक्रबार) कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भवनको औपचारिक रुपमा शिलान्यास गर्नुभएको छ । स्थापनाकालदेखि अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै नेपाल पत्रकार महासङ्घ खोटाङले आफ्नै सुविधासम्पन्न पक्की कार्यालय भवन पाउने भएपछि पत्रकारहरुसमेत हर्षित भएका छन् ।
पत्रकार महासङ्घको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहनुभएका निवर्तमानमन्त्री राईले लोकतान्त्रिक व्यवस्थामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । “नागरिकको आवाज बुलन्द गर्ने र सरकारका गतिविधि जनतासम्म पु¥याउने काम पत्रकारहरूको हो । त्यसैले पत्रकारिता क्षेत्र व्यवस्थित र विश्वासिलो हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्र बलियो भएमात्र लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ । पत्रकारको चौतर्फी विकास गर्न आफू मन्त्री हुँदा भवनका लागि बहुवर्षीय बजेट सुनिश्चित गरेको हुँ ।”
पत्रकार महासङ्घको नयाँ भवन शिलान्याससँगै निर्माण कार्य सुरु भएको महासङ्घ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताउनुभएको छ । “यो हाम्रो संस्थागत भवन हो र खोटाङका पत्रकारहरूको साझा सम्पत्ति पनि हो । निर्माण कार्य समयमै सम्पन्न गराउन पत्रकार महासङ्घले निर्माण व्यवसायीलाई निरन्तर सचेत गराउँछ”, उहाँले भन्नुभयो “हामीले पत्रकार महासङ्घको कार्यालय भवन निर्माणलाई गुणस्तरीय र छिटो सम्पन्न गराउन अनुगमन समितिसमेत गठन गरेका छौँ । आवश्यक परेको खण्डमा निर्माण व्यवसायीलाई सहयोग पनि गर्छौँ ।”
वि.सं. २०६१ सालमा स्थापना भएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन नहुँदा दिक्तेल बजारस्थित भवनगैरामा व्यक्तिको घर भाडामा लिएर साँघुरो कोठाबाट कार्यसञ्चालन गर्दै आएको छ । भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएपश्चात सेवा प्रवाहमा समेत सहज हुने जनाएको छ ।
पत्रकार महासङ्घका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले वि.सं. २०६३ सालमा निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा यसअघि ढुङ्गा÷माटोको कच्ची भवन निर्माण गरिएपनि उपयोगविहीन भएको थियो ।
निर्माण गरेको लामो समयसम्म उपयोगविहीन बनेको पत्रकार महासङ्घ खोटाङको कच्ची भवन भत्काएर सोही ठाउँमा नयाँ पक्की कार्यालय भवन निर्माणको काम सुरु गरिएको जनाइएको छ । पक्की कार्यालय भवन निर्माणको कामलाई तोकिएकै मितिमा सम्पन्न गराउन पत्रकार महासङ्घ खोटाङले अनुगमन समितिसमेत गठन गरेको छ ।


