पर्यटनको नयाँ गन्तव्य ‘यलम्बर पार्क’


आत्मा राई (मिनाक्क्षी)
खोटाङ, १२ असार । खोटाङको बुइपा भन्नेबित्तिकै कुनै समय मानिसहरूको मानसपटलमा शिक्षाको केन्द्र र साहित्यिक गाउँको तस्बिर झल्किन्थ्यो । तर, समयको बहाबसँगै बुइपाको परिचयमा एउटा नयाँ अध्याय थपिएको छ, पर्यटन ।

पहाडको टाकुरामा ठडिएको ११० फिट अग्लो किरातकालीन प्रथम राजा यलम्बरको पूर्णकदको प्रतिमाले बुइपालाई मात्र होइन, सिङ्गो खोटाङलाई नै चिनाउने जमर्को गरेको छ । बुइपाको परिचयको जग वि.सं. २०१३ सालमा हालिएको थियो । १३ सालमा चम्पावती माध्यमिक विद्यालय स्थापना भयो । जिल्लाकै पहिलो मावि स्तरको यो विद्यालयले दशकौँसम्म खोटाङ र आसपासका जिल्लाका विद्यार्थीलाई ज्ञानको उज्यालो बाँड्यो । त्यतिबेला बुइपा आउनुको अर्थ थियो शिक्षा र चेतना प्राप्त गर्नु ।

वि.सं. २०४९ सालदेखि पञ्चदोबाटो बजारमा लाग्ने शुक्रबारे हाटले बुइपालाई आर्थिक रूपमा चलायमान बनायो । लेक र बेँसीका मानिसहरू अन्नपात र नुन–तेल साट्न बुइपामा भेला हुन्थे । हप्ताको एक दिन मात्रै जुर्मुराउने यो बजारको रौनकता अहिले फेरिएको छ । ’यलम्बर पार्क’ को निर्माणपछि यहाँ शुक्रबार कुर्नु पर्दैन, हरेक दिन पर्यटकहरूको लर्को लाग्ने गरेको छ ।
बुइपाको डाँडामा निर्मित यलम्बरको विशाल मूर्ति अहिले देशैभरका पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । कोही किरात इतिहासको अध्ययन गर्न त कोही यो विशाल कलाकृतिको अवलोकन र तस्बिर खिच्न यहाँ आइपुग्छन् ।’ पहिले यहाँ मानिसहरू कि त पढ्न आउँथे, कि त सामान किनबेच गर्न,’ स्थानीयहरू भन्छन्,’ तर अहिले बुइपाको परिचय फेरिदैछ, यहाँ मानिसहरू घुम्न र रमाउन आउँछन् ।’

शिक्षा र साहित्यको जगमा उभिएको बुइपाले अहिले आफ्नो ऐतिहासिक गौरवलाई पर्यटनसँग जोडेको छ । ११० फिट अग्लो यलम्बरको मूर्तिले बुइपालाई नयाँ उचाइ मात्र दिएको छैन, स्थानीय अर्थतन्त्र र पहिचानमा समेत नयाँ प्राण भरेको छ ।
यलम्बर पार्कले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान आकर्षित गरिरहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभएको छ । “पञ्चेदोबाटो हुँदै खोटाङ र तराई आवतजावत गर्ने यात्रुहरू पार्कमा गाडी रोकेर अवलोकन गर्ने र फोटो खिच्ने गर्छन् ।” वडाध्यक्ष राईले भन्नुभयो, “सिक्किम, दार्जिलिङ, इलाम र पश्चिम लगायत विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन् । विभिन्न समूह तथा संस्थाका सदस्यहरू पनि भ्रमणका लागि आउने गरेका छन् ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा पञ्चदोबाटोमा करिब ३० रोपनी सरकारी जग्गामा निर्माण गरिएको उक्त पार्कले स्थानीय इतिहास, संस्कृति र आधुनिक पर्यटन पूर्वाधारलाई एकैसाथ जोड्ने प्रयास गरेको छ । जसकारण इतिहास बुझ्न, अवलोकन गर्न देशका विभिन्न ठाउँबाट मानिसहरु आउन थालेका छन् । फोटो, भिडियो खिच्नेहरुको हरेक दिन भीड लाग्ने गरेको वडाध्यक्ष राईले बताउनुभयो ।माझ किरातको रूपमा परिचित खोटाङमा निर्माण गरिएको यलम्बरको भव्य प्रतिमा हालसम्मकै अग्लोमध्ये एक भएको दाबी गरिएको छ । प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत गरी ११ करोड ५८ लाख १६ हजार लागतमा ‘फाइबर’ प्रविधि प्रयोग गरेर उक्त प्रतिमा निर्माण गरिएको हो ।

सरगमाथा लोकमार्गको गाइघाट–महुरे–दिक्तेल सडक ‘यलम्बर पार्क’ निर्माण गरिएको बुइपा पञ्चदोबाटोहुँदै आएको छ । उक्त सडक कालोपत्रेको काम अहिले धमाधम भइरहेको छ । सडक कालोपत्रेको काम सकिएपछि पर्यटकहरुको वृद्धि हुनेमा बुइपावासी ढुक्क छन् । तर, अहिले पनि गाउँठाउँको परिवेसमा पार्कले राम्रो आकर्षण सिर्जना गरेको वडाध्यक्ष राईको भनाइ छ ।“पार्क निर्माण भएपछि स्थानीय व्यवसायीहरूको आयआर्जनमा टेवा पुगेको छ । स्थानीय बजार पूर्ण रूपमा विकसित नभइसके पनि पर्यटकहरू उपलब्ध सेवा–सुविधामा रमाउने गरेका छन्, होटल व्यवसायसमेत राम्रोसँग सञ्चालन भइरहेको छ । हाल पार्कमा थप सजावट तथा सौन्दर्यीकरणका कामहरू भइरहेका छन् ।” उहाँले भन्नुभयो, “पार्कलाई अझ आकर्षक बनाउन घुमफिरका लागि खुला स्थान, विश्रामस्थल, निःशुल्क वाइफाइ, कफी तथा फास्टफुड सेवाजस्ता सुविधा थप गरिएको छ । चारैतिर घेराबार गरिएको पार्कको मध्यभागमा विशाल यलम्बर प्रतिमा स्थापना गरिएको छ, जसले पार्कको आकर्षण अझ बढाएको छ । यद्यपि महुरे–फोक्सिङटार सडक पूर्ण रूपमा कालोपत्रे नभएको र फोक्सिङटारका पुल बाढीले बगाएका कारण पर्यटक आवतजावतमा केही समस्या रहेको छ ।”

हरेक शुक्रबार हटिया लाग्ने पञ्चदोबाटो क्षेत्रमा निर्माण गरिएको यो पार्कले स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ । पछिल्लो समय बाह्य आगन्तुकको संख्या क्रमशः बढ्न थालेको स्थानीय बताउँछन् । स्थानीय नारायण श्रेष्ठ ‘भाइकाजी’ भन्नुहुन्छ “पहिले हाम्रो गाउँ चिन्ने मानिस कम थिए, तर अहिले यलम्बर पार्कका कारण विभिन्न ठाउँबाट पर्यटक आउन थालेका छन् । यसले व्यापारमा पनि राम्रो प्रभाव पारेको छ ।”

अर्का स्थानीय सुमन राईले यलम्बरको प्रतिमाले समुदायको पहिचानलाई अझ मजबुत बनाएको बताउनुभयो । “हामीलाई आफ्नो इतिहासप्रति गर्व छ । यस्तो ठूलो र आकर्षक प्रतिमा बनेपछि हाम्रो गाउँको पहिचान देशभर फैलिने विश्वास लिएका छौँ । बुइपा पञ्चदोबाटो अहिले नयाँ पर्यटकीय गन्तव्यकोरुपमा विकास भएको छ, यसमा हामी कोशी प्रदेश सरकार र स्थानीय सरकारलाई धन्यावाद दिन्छौँ ।”

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार यलम्बर पार्क निर्माण परियोजना प्रदेश र स्थानीय तहको प्राथमिकतामा राखिएको दीर्घकालीन योजनाअन्तर्गत सम्पन्न गरिएको हो । “यो परियोजनाले पर्यटन प्रवद्र्धनसँगै स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरेका छौँ,” नगरप्रमुख भट्टराईका अनुसार पार्कबाट संकलन हुने आम्दानीमध्ये ५५ प्रतिशत नगरपालिकालाई, १० देखि १५ प्रतिशत र बाकीँ प्रदेश सरकारलाई जाने व्यवस्था गरिएको छ । यलम्बरलाई किरात वंशका प्रथम राजा मानिन्छ, जसको योगदान र वीरताको कथा पुस्तौंदेखि सुनिँदै आएको छ । यलम्बरको पूर्णकदको प्रतिमामार्फत नयाँ पुस्तालाई आफ्नो इतिहास र सांस्कृतिक विरासतसँग जोड्ने प्रयास गरिएको सरोकारवालाहरू बताउँछन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुइपा क्षेत्रसँग ऐतिहासिक महत्वको संरचना जोडिँदा आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । यद्यपि, पार्कको दीर्घकालीन सञ्चालन, संरक्षण तथा व्यवस्थापनमा चुनौती हुन सक्ने भन्दै सरोकारवालाहरूले पर्याप्त पूर्वाधार विकास, प्रभावकारी प्रचार–प्रसार र सेवा गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । समग्रमा, बुइपामा निर्माण गरिएको यलम्बर पार्कले इतिहास, संस्कृति र विकासबीच सन्तुलन कायम गर्दै खोटाङलाई पर्यटनको नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने आधार तयार गरेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया