केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम : विवाहपछि पढाइ छाडेका महिलाका लागि वरदान

Minakshi Rai

खोटाङ, ११ असार । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले वि.सं. २०७६ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको थियो । कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट एसइई उत्तीर्ण गरेको केही समयपछि एलिना सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिनुभयो ।

एलिना र दिनेशको दुई सन्तान (छोरा र छोरी) छन् । विवाह लगत्तै लगातार दुई सन्तानलाई जन्म दिनुभएका एलिना र दिनेशको पहिलो सन्तान छोरा कक्षा–३ र छोरी कक्षा–२ मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा अध्ययनरत छन् ।

एसइई उत्तीर्ण गरेको चार वर्षपछि छोराछोरीसँगै आफ्नो पढाइलाई निरन्तरता दिनुभएकी एलिनाले यस वर्ष २.८४ जिपिए अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्नुभएको छ । विवाह बन्धनमा बाँधिएका कारण बीचैमा पढाइ छाड्नुभएकी एलिनाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाट कक्षा–१२ उत्तीर्ण गर्नुभएको हो ।

एलिनासँगै शिक्षा राईले २.७५ जिपिए, देवका राईले २.६२ जिपिए र सुस्मिता राईले २.३३ जिपिएर अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्नुभएको पृथ्वी माविका शिक्षक दिनेशकुमार राईले जानकारी दिनुभएको छ । एलिनासहित चान जना स्थानीय विवाहित महिलाले केपिलासगढी गाउँपालिकाले सञ्चालन गरेको ‘बुहारी शिक्षा’ कार्यक्रम अन्तरगत कक्षा–१२ उत्तीर्ण गर्नुभएको हो ।

केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित रेनुका माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नुभएकी देवकाले वडा नं.–७ सुङ्देलमा विवाह गर्नुभएको छ । एक छोरालाई जन्म दिएपछि देवकाले आफ्नो पढाइलाई निरन्तरता दिनुभएको हो ।

केपिसालगढी गाउँपालिका–३ बाक्सिला स्थायी घर भएकी शिक्षाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाटै एसइई उत्तीर्ण गर्नुभएको थियो । शिक्षाले दुई छोरालाई हुर्काउँदै आफ्नो पढाइलाई निरन्तरता दिनुभएको हो ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा जन्मनुभएकी सुस्मिताले सोही ठाउँको कालिका माविबाट गर्नुभएको थियो । केपिलासगढी गाउँपालिका–३ बाक्सिलामा विवाह गरेर एक छोरा र एक छोरीलाई जन्म दिएपछि सुस्मिता पुनः विद्यार्थी जीवनमा फर्किनुभएको हो ।

सात वडा रहेको यो गाउँपालिकामा शैक्षिकसत्र २०७९-८० बाट सुरु भएको यो कार्यक्रम छोटो समयमै प्रभावकारी बन्दै गएको पाइएको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिएको बुहारी शिक्षा कार्यक्रम अन्तरगत हालसम्म विभिन्न वडाका १२ जना विवाहित महिलाले सेवा लिइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभएको छ ।

बिहेपछि पनि पढ्न इच्छुक बुहारीले कम्तीमा कक्षा–८ उत्तीर्ण गरेको हुनुपर्ने र त्यस्ता इच्छुक बुहारीलाई कक्षा–१२ सम्म नाम लेखाउन, फर्म भर्न, पुस्तक, पोसाक, स्टेसनरीलगायतमा गाउँपालिकाले सहयोग उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले कार्यपालिकाको बैठकमार्फत बुहारीलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम सञ्चालन गरेको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभएको छ । “घरमा आमा शिक्षित भए परिवार शिक्षित हुन्छ भन्ने भनाइ छ । यही भनाइअनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तरगत बुहारी शिक्षा कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ । तब मात्रै समाजको परिवर्तन सम्भव छ । कक्षा–१२ पास गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफै अघि बढ्लान् । गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको सेवा लिएर समाजमा अगुवाइ गर्लान् भन्ने अपेक्षासहित बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।”

गाउँपालिकामा सामुदायिकतर्फ एक प्रस्तावितसहित आठवटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । पढ्न इच्छुक बुहारीले गाउँपालिकाभित्र आफूलाई पायक पर्ने जुनसुकै शैक्षिक संस्थामा गएर अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

घरायसी कामले विद्यालय जान नसक्ने बुहारीका लागि निःशुल्क अभ्यास कक्षाको व्यवस्थासमेत मिलाइने गाउँपालिकाले जनाएको छ । पढ्न इच्छुक बुहारीको तथ्याङ्कक र आवेदन सङ्कलनका लागि गाउँपालिकाको शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

बुहारी शिक्षा अध्ययन आवेदन फारममा नाम, ठेगाना, अध्ययन गरेको विद्यालय, सम्पर्क नम्बर, विवाह मिति, श्रीमान्, आमा र बुबाको नाम, कक्षा–८ वा एसइई उत्तीर्ण वर्ष, अध्ययन गर्न नसक्नुका कारण लगायतका विवरण भर्नुपर्ने छ । गाउँपालिकामा सञ्चालित बुहारी शिक्षा कार्यक्रमले विवाहित महिलालाई पढ्नका लागि उत्प्रेरित गर्ने र महिलाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपप्रमुख गुरुराज राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया